सहुलियतपूर्ण कर्जा भनेको के हो ? यस्तो कर्जा पाउन कहाँ निवेदन दिने ?

सहुलियतपूर्ण कर्जा भनेको के हो ? यस्तो कर्जा पाउन कहाँ निवेदन दिने ?

बैंक खबर । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्घन गरी उत्पादन एवं रोजगारी अभिवृद्घि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिलामा उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सिप र पेशालाई आधुनिकीकरण एवं प्रवद्र्घन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि तथा भुकम्प पीडितहरुको निजी आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह हुने कर्जा नै सहुलियतपूर्ण कर्जा हो ।

सहुलियतपूर्ण कर्जा प्राप्त गर्न कहाँ निवेदन दिनु पर्छ ?
सहुलियतपूर्ण कर्जा प्राप्त गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त वित्तीय संस्थामा निवेदन दिनुपर्छ ।

सहुलियतपूर्ण कर्जा सबै किसिमका व्यवसाय गर्न पाइन्छ ?
‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार प्रवाह हुने १० प्रकारका कर्जाको लागी कार्यबिधिको अनुसूची–१ मा तोकिएका व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा पाइन्छ ।
– व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म,
– शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म,
– विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म,
– महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म,
– दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म, 
– उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँसम्म,
– भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ३ लाख रुपैयाँसम्म,
– कपडा उद्योग सञ्चालनको लागि ५ करोड रुपैयाँसम्म,
– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिम आदिको लागि २ लाख रुपैयाँसम्म,
– युवा वर्ग स्वरोजगार कर्जा ५ लाख रुपैयाँसम्म ।

सहुलियतपूर्ण कर्जामा कुन कर्जाको बीमा गर्नु पर्छ ?
दश लाख रुपैयाँभन्दा बढीको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा र कपडा उद्योग सञ्चालनका लागि दिइने कर्जामा बाहेक अन्य सहुलियतपूर्ण कर्जामा अनिवार्य रुपमा कर्जाको बीमा गर्नुपर्छ ।

सहुलियतपूर्ण कर्जा बारेको गुनासो कहाँ गर्ने ? 
सहुलियतपूर्ण कर्जाका बारेमा कुनै गुनासो भएमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग वा प्रदेशस्थित कार्यालयहरूमा गुनासो गर्न सकिन्छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस