क्षणिक लाभका लागि गैर कानुनी हुण्डी कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

२०८२ असार १७ गते मंगलबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले हुण्डी जस्ता गैर कानूनी कारोबार नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै गैर कानूनी हुन्डी कारोबार नगर्न आग्रह गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचनामा, ‘हुण्डीसम्बन्धी कारोबार भन्नाले प्रचलित कानूनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरण बाहेकका अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यम प्रयोग गरी नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तरण वा हिसाब मिलान वा भुक्तानी लिने, दिने वा हुने गरी व्यवसाय बनाइ गरिने कारोबार भन्ने बुझिन्छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क, अनुसार कसैले पनि हुण्डीसम्बन्धी कारोबार गर्न वा गराउन हुँदैन’, उल्लेख छ ।
रकम स्थानान्तरणसम्बन्धी कुनै पनि व्यावसायिक कारोबार वास्तविक हिसाब किताब नदेखिने गरी सोसम्बन्धी रकम कुनै पनि माध्यमबाट भुक्तानी लिने वा दिने काम नगर्न पनि राष्ट्र बैंकले सचेत गराएको छ ।
कसैले हुण्डीसम्बन्धी कसूर गरेमा विगो र सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने र एक वर्षसम्मको कैद हुने कानुनी व्यवस्था छ ।
त्यसैले, नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा रकम स्थानान्तरण गर्दा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू र विप्रेषण कम्पनीहरूको मात्र प्रयोग गर्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ ।