नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ माघ ८ गतेदेखि निष्काशन हुँदै

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ माघ ८ गतेदेखि निष्काशन हुँदै

२०८१ पुस २८ गते आइतबार । 

बैंकको खबर । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले सो दिनदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी प्रँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनका लागि अनुमति पाएको छ । त्यसको १० प्रतिशत अर्थात दुई करोड २५ लाख रुपैयाँ बराबरको दुई लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो । सो आईपीओ नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा गएका नेपालीहरुले खरिद गर्न सक्नेछन् । 

यसबाहेक इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता र म्युचुअल फण्ड कम्पनीहरुका लागि ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ। 

बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ २२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ। 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । 


शेयर गर्नुहोस