माघ १ गतेदेखि बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य
२०८१ पुस २६ गते शुक्रबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न निर्देशन दिएको छ ।
‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकीन गरी अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा खाता खोल्ने व्यवस्था
मिलाउनुपर्नेछ’, राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।
नयाँ निर्देशन अनुसार, अब खाता खोल्दा केवाईसी विवरण भरिराख्नु पर्ने छैन । यदि ग्राहकले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखको आधारमा खाता खोल्न चाहन्छ भने यसले खाता खोल्ने प्रक्रिया थप सजिलो बनाउने अपेक्षा गरिएको छ।
नेपाल सरकारले सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नु अघि निर्देशन बमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने व्यवस्था पनि गरेको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई लघुवित्त क्षेत्रका खाता खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउन निर्देशन दिएको छ। यसले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन र नियमावली अनुरूप ग्राहकको पहिचान र पुष्टि सुनिश्चित गर्नेछ।
निर्देशन अनुसार, आगामी माघ १ गतेसम्म बैंक तथा वित्तीय संस्थाले सबै उच्चपदस्थ व्यक्तिको खातामा पनि राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ।
साथै, विद्युतीय माध्यमबाट गरिने कारोबारमा सुरक्षा उपायहरू अपनाउनका लागि बैंक र वित्तीय संस्थाहरूलाई विशेष सावधानी अपनाउन पनि निर्देशन दिएको छ ।
All banking information at your fingertips.