कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा

२०८१ पुस १० गते बुधबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त संस्थालाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गरेको हो ।
बैंक समस्याग्रस्त घोषणा भएपछि राष्ट्र बैंकले बैंकको व्यवस्थापन नियन्त्रणमा लिएको छ । बैंक सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा ३ सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ । यस्तै वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहा सदस्य छन् । समूहले पुस ११ गतेदेखि कार्यभार सम्हाल्नेगरी जिम्मेवारी दिएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसेका कारण समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।
साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारी समेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी बैंकको व्यवस्थापन नियन्त्रणमा लिइएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
कर्णाली विकास बैंकको तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत छ । राष्ट्र बैंकले गत मंसिर ११ देखि बैेंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको थियो ।
All banking information at your fingertips.