बैंक तथा वित्तीय संस्थामा चार अर्ब बढी निक्षेप लगानी गर्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा चार अर्ब बढी निक्षेप लगानी गर्दै राष्ट्र बैंक

२०८१ मंसिर १७ गते सोमबार 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप लगानी गर्ने भएको छ । राष्ट्र बैंकले चार अर्ब चार करोड ७९ लाख रुपैयाँ मुद्दती निक्षेपको रुपमा लगानी गर्न लागेको हो । 
राष्ट्र बैंकले तोकिएका शर्तहरु पुरा गरेका बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको निक्षेप रकम र उक्त रकमको लागि ब्याजदर तोकेर प्रस्ताव पेश गर्नसक्ने जनाएको छ । यस्तो प्रस्ताव २०८१ मंसिर १९ गते राती १२ बजेभित्र प्राप्त हुनेगरी पेश गर्नुपर्नेछ । 

राष्ट्र बैंकले डिसेम्बर १६ २०२४ देखि डिसेम्बर १७ २०२५सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा सो पैसा राख्न लागेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा तीन अर्ब २३ करोड ८५ लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरुमा ६० करोड ७१ लाख रुपैयाँ र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीहरुमा २० करोड २३ लाख रुपैयाँ निक्षेप राख्न लागेको जनाएको छ । 

राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको, कर्जा निक्षेप अनुपात सीमाभित्र रहेको, निष्क्रिय कर्जा कुल सापटीको पाँच प्रतिशत भन्दा कम रहेको, खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको, गत आर्थिक वर्षमा मुनाफामा रहेको, रियल स्टेट कर्जा तोकिएको सीमाभन्दा बढी नभएको, कुनैपनि जरिवानामा नपरेको र शीघ्रु सुधारात्मक कारबाहीमा परेको भए कारबाही फुकुवा भएको कम्तीमा छ महिना पुरा भएको लगायत शर्त पुरा गरेका बैंक तथा वित्तीय संस्थाले निक्षेप लिनका लागि आवेदन दिन सक्नेछन् । 

All banking information at your fingertips.


शेयर गर्नुहोस