प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान
.jpg)
२०८१ मंसिर १७ सोमबार ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली आज बिहान ११ बजे चार्टर्ड उडानमार्फत चीन प्रस्थान गरेका हुन् ।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् । यस्तै आफ्ना चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विषयमा छलफल गर्नेछन् ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गरेका छन् । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुगेका थिए । चीन प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
All banking information at your fingertips.