वैदेशिक शिक्षाका लागि साउन र भदौमा बाहिरयो २८ अर्ब १६ करोड
बैंकको खबर । वैदेशिक शिक्षाका लागि गएको साउन र भदौ महिनामा नेपालबाट २८ अर्ब १६ करोड रुपैयाँ बाहिरिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१को साउन र भदौ महिनामा विदेश अध्ययनमा जाने विद्यार्थीले सो रकम खर्च गरेका हुन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार अर्ब ८३ करोड रुपैयाँ बढी हो । २०८०को साउन र भदौमा विदेश अध्यनका लागि २३ अर्ब ३३ करोड रुपैयाँ बाहिरिएको थियो ।
वैदेशिक शिक्षाका लागि खर्च हुने रकम बढेपछि खुद सेवा आय घाटा पनि बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद सेवा आय २८ अर्ब २० करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २५ अर्ब २३ करोड रुपैयाँले घाटामा थियो ।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १२.१ प्रतिशतले वृद्धि भई १० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय नौ अर्ब ४० करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय २२.२ प्रतिशतले वृद्धि भई ४३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३५ अर्ब ५९ करोड रुपैयाँ थियो ।
All banking information at your fingertips.
२०८१ असोज २९ गते मंगलबार ।