नेपालको अर्थतन्त्रमा सुधारको संकेत : आईएमएफ

नेपालको अर्थतन्त्रमा सुधारको संकेत : आईएमएफ

काठमाडौँ, २०८१, असोज ८ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको बताएको छ । तर अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक रहेको जनाएको छ । नेपाल भ्रमणमा रहेको आइएमएफको टोलीले प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रगत सुधारका लागि नेपालले केही कदम चाल्नुपर्ने आवश्यक रहेको जनाएको छ । आईएमएफको श्रीलङ्काका लागि आवासीय प्रतिनिधि सारवत् जहाँको नेतृत्वको टोलीले सेप्टेम्बर ११ देखि २२सम्म नेपालको भ्रमण गरेको थियो । 

आईएमएफले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्न र समष्टिगत आर्थिक स्थितिको जानकारी लिर्ने उद्देश्य सहित यो टोलीले नेपाल भ्रमण गरेको थियो । 

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको अर्थतन्त्रले पुनःउत्थानको प्रारम्भिक संकेत देखाइरहेको छ । नयाँ तथ्यांकले आयातको वृद्धि सकारात्मक दिशामा प्रवेश गरिरहेको देखाएको छ । कर संकलनमा सुधार भइरहेको छ र सार्वजनिक लगानी वृद्धि हुँदै गएको छ ।’ 

यस्तै कर्जा विस्तारमा सुधार भइरहेको, मुद्रास्फीति घटेको, विदेशी मुद्राको सञ्चिति बढ्नुले अर्थतन्त्रमा सुधारको संकेत गरेको आइएमएफको भनाइ छ । 

विदेशी मुद्रा सञ्चिति बढ्नुमा विप्रेषण आप्रवाह बढ्नु, पर्यटन क्षेत्र लयमा फर्किनु र वैदेशिक व्यापारमा आयातको अंश घट्नुलाई जिम्मेवार मानिएको छ । अर्थतन्त्र सुधारका सुरुवाती संकेत देखिए पनि त्यसलाई गति दिन नेपालले अझै केही महत्वपूर्ण काम गर्नुपर्ने सुझाव आईएमएफले दिएको छ ।

नेपालमा इसिएफ कार्यान्वयनका लागि आईएमएफले राखेको एउटा महत्वपूर्ण शर्तमध्ये १० वटा ठूला वाणिज्य बैंकहरुको कर्जा ‘पोर्टफोलिया’ समीक्षा (क्रेडिट पोर्टफोलिया रिभ्यु–सिपिआर) पनि एउटा हो । नेपाल राष्ट्र बैंकले सिपिआर प्रक्रिया अघि बढाउन प्रस्ताव आह्वान गरेको भए पनि आर्थिक तथा प्राविधिक मूल्याङ्कनपछि कुनैपनि कम्पनी योग्य नदेखिएको भन्दै यो प्रक्रिया रद्ध भएको छ ।

राष्ट्र बैंकले यो प्रक्रिया पुनः प्रस्ताव आह्वान प्रक्रिया अघि बढाएको छ । तर आईएमएफले भने ठूला बैंकहरुको ‘सिपिआर’ आवश्यक रहेको बताएको छ । 

विज्ञप्तिमा भनिएको छ ‘बैंकहरूले बढ्दो खराब कर्जा र पुँजी व्यवस्थापनमा समस्या भोगिरहेको अवस्थामा निरन्तर निगरानी आवश्यक छ । बैंक तथा वित्तीय संस्थाको नियमनलाई अझ सुदृढ बनाउन र ठूला १० वाणिज्य बैंकको ऋण पोर्टफोलियोको समीक्षा पूरा गर्नु महत्वपूर्ण छ ।’ बचत र ऋण सहकारी संस्थामा रहेका समस्या समाधानलाई प्राथमिकतामा राख्न आईएमएफले सुझाव दिएको छ । 

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन संशोधन हुनु सकारात्मक रहेको उल्लेख गर्दै आईएमएफले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन, राष्ट्र बैंकको बाह्य लेखापरीक्षण, र सार्वजनिक संस्थानको पारदर्शीता बढाउनुपर्नेमा जोड दिएको छ । आईएमएफ ईसिएफको पाचौँ किस्ता निकासाका लागि समीक्षाको चरणमा छ ।


शेयर गर्नुहोस