सरकारको तिर्न बाँकी ऋण झण्डै २४ खर्ब 

सरकारको तिर्न बाँकी ऋण झण्डै २४ खर्ब 

बैंक खबर । सरकारले तिर्न बाँकी ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ पुगेको छ । यसमध्ये आन्तरीक ऋण दायित्व ११ खर्ब ७९ अर्ब ४८ करोड चार लाख रुपैयाँ र बाह्य ऋण दायित्व १२ खर्ब छ अर्ब ३१ करोड १७ लाख रुपैयाँ छ ।

गत आसार मसान्तमा सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ थियो । चैत मसान्तमा आइपुग्दा ८६ अर्ब ४४ करोड रुपैयाँले बढेको छ ।

फागुन महिनाको तुलनामा चैत मसान्तमा सरकारले तिर्नुपर्ने ऋण साढे दुई अर्ब रुपैयाँ घटेको छ । फागुन मसान्तमा सरकारले  तिर्नुपर्ने ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ थियो । फागुन महिनामा भन्दा चैतमा ऋणको सँवा र ब्याज भुक्तानी बढी तिरेकाले तिर्नबाँकी ऋण दायित्व घटेको हो ।

सरकारको आम्दानी खुम्चिदै जाँदा ऋण लिएर ऋण तिनुपर्ने अवस्था छ । महालेखानियन्त्रकको कार्यालयका अनुसार यस वर्ष चैत मसान्तसम्म ५२ दशमलव ५८ प्रतिशत राजस्व संकलन भएको छ । जुन सात खर्ब ४८ अर्ब हुन्छ । तर यो अवधिमा सरकारले नौ खर्ब नौ अर्ब रुपैयाँ खर्च गरेको छ । आम्दानी भन्दा खर्च एक खर्ब ६१ अर्ब रुपैयाँ बढी भएको छ । यहीकारण सरकारले ऋण लिएरै खर्च गरिरहेको छ भने पुरानो तिर्न बाँकी ऋणको किस्ता र ब्याज समेत ऋण लिएरै भुक्तानी गर्नुपरेको देखिन्छ ।

सरकारले ऋण तिर्नकै लागि थप ऋण लिनुपरेको तथ्यांकमा देखिन्छ । चैतसम्म सरकारले कुल दुई खर्ब ३८ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ ऋण लिएको छ । यस अवधिमा एक खर्ब ५२ अर्ब ५० करोड दुई लाख रुपैयाँ भुक्तानी गरेको छ । सरकारले बाह्य ऋणको तुलनामा अन्तरिक ऋण प्राप्ती बढी गरेको छ । नौ महिनामा सरकारले बाह्य ऋण ६२ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ लिएको छ भने आन्तरिक ऋण एक खर्ब ७६ अर्ब रुपैयाँ लिएको छ । त्यस्तै बाह्य ऋण २६ अर्ब ८७ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने आन्तरिक ऋण एक खर्ब २५ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

विकास निर्माण सुस्त हुँदा बाह्य ऋण कम प्राप्त भएको छ । सरकारले आन्तरिक ऋण उठाएर खर्च गरेको देखिन्छ । 
 

All financial information at your fingertips.


भिडियो हेर्नुहोस

शेयर गर्नुहोस