कर्णाली प्रदेशका उद्योगमा बैंकहरुको लगानी चार अर्ब पनि छैन

कर्णाली प्रदेशका उद्योगमा बैंकहरुको लगानी चार अर्ब पनि छैन

बैंक खबर । कणाली प्रदेशका उद्योगमा बैंकहरुले प्रवाह गरेको ऋण निकै कम देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनअनु्सार आर्थिक वर्ष २०७९/८०मा बैंकहरुले कर्णाली प्रदेशका उद्योगमा जम्मा ३ अर्ब ९८ करोड ६१ लाख रुपैयाँ ऋण लगानी गरेका छन् ।

यो कर्जा आर्थिक वर्ष २०७८/७९को तुलनामा ८.४७ प्रतिशतले बढी हो । सो वर्ष बैंकहरुले कर्णाली प्रदेशमा ३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

समीक्षा वर्षमा कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २०.८८ प्रतिशतले वृद्धि भएको छ भने खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जामा सबैभन्दा बढी २७.३९ प्रतिशतले ह्रास आएको छ । 

बिद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा १४.३३ प्रतिशतले, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जा ११.० प्रतिशतले र निर्माण सम्बन्धी उद्योगमा प्रवाहित कर्जा ६.१० प्रतिशतले बढेको छ भने धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जामा १३.०५ प्रतिशतले ह्रास आएको छ ।

कुल औद्योगिक कर्जामध्ये निर्माण सम्बन्धी क्षेत्रको अंश सबैभन्दा बढी २८.९९ प्रतिशत र खानी सम्बन्धी क्षेत्रको अंश सबैभन्दा कम १.८८ प्रतिशत रहेको छ । त्यसैगरी, गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योग, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योग, धातुका उत्पादन मेसिनरी तथा ईलेक्ट्रोनिक्स सम्बन्धी उद्योग र विद्युत, ग्याँस तथा पानी सम्बन्धी उद्योगले कुल औद्योगिक कर्जाको क्रमशः २८.७० प्रतिशत, २८.०५ प्रतिशत, ८.६७ प्रतिशत र ३.७१ प्रतिशत हिस्सा ओगटेका छन् ।

कर्णाली प्रदेशमा औद्योगिक कर्जाको उपयोग रुकुम पश्चिम, सल्यान, सुर्खेत, मुगुर डोल्पा जिल्लामा क्रमशः २७.८६ प्रतिशत, १७.२९ प्रतिशत, १३.७९ प्रतिशत, ९.७६ प्रतिशत र ४.४२ प्रतिशतलेवृद्धि भएको छ भने बाँकी दैलेख, हुम्ला, कालिकोट, जाजरकोट र जुम्ला जिल्लामा औद्योगिक कर्जाको उपयोग क्रमशः १९.०४ प्रतिशत, १८.९६ प्रतिशत, १५.६२ प्रतिशत, ६.८५ प्रतिशत र ६.१४ प्रतिशतले घटेको देखिन्छ ।

आ.व. २०७९/८० मा सुर्खेत जिल्लामा सबैभन्दा धेरै २ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ औद्योगिक कर्जा उपयोग भएको छ भने सबैभन्दा कम ८८ लाख रुपैयाँ डोल्पा जिल्लाले उपयोग गरेको छ । औद्योगिक कर्जा घट्नुको प्रमुख कारण बैंक तथा वित्तीय संस्थाहरुमा रहेको तरलताको समस्या तथा ब्याजदरमा भएको वृद्धिलाई लिन सकिन्छ ।

All financial information at your fignertips.


शेयर गर्नुहोस