खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एप्लाइड फिनटेक इन्जिनियरिङ पाठ्यक्रम ल्याउने

खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एप्लाइड फिनटेक इन्जिनियरिङ पाठ्यक्रम ल्याउने

बैंक खबर । ‘खल्ती’ ले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका विद्यार्थीहरूलाई ‘अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स’ अध्ययन गर्ने सुविधा उपलब्ध गराएको छ । त्रिभुवन विश्वविद्यालयबाट मान्यताप्राप्त यस पाठ्यक्रममा, फिन्टेकमा रुचि राख्ने स्नातक तहका विद्यार्थीहरू समावेश हुन सक्नेछन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्नातक तहमा ‘इलेक्ट्रोनिक्स र कम्प्युटर’ विषय अध्ययनरत विद्यार्थीहरूले यस विषयलाई अन्तिम सेमेस्टरमा छनोट गर्न सक्नेछन् ।

नेपालको शिक्षा प्रणालीलाई अझै उत्कृष्ट बनाउन  व्यवहारिक शिक्षाको  महत्वपूर्ण भूमिका रहेको अवस्थालाई मध्यनजर गर्दै  खल्तीले  अप्लाइड फिनटेक  इन्जिनियरिङ् पाठ्यक्रम उपलब्ध गराएको जनाएको छ । शिक्षा र  व्यावहारिक जीवनमा देखिएको खाडललाई परिपूर्ति गर्ने उद्देश्यका साथ खल्तीले उपलब्ध गराएको यस पाठ्यक्रममा विद्यार्थीहरूले अहिलेको जल्दोबल्दो थुप्रै कम्पनी मध्येमा एक रहेको–फिनटेक कम्पनीको बारेमा त्यहाँका सदस्यहरूबाट प्रत्यक्ष रूपमा सैद्धान्तिक शिक्षा पाउनुका साथै व्यवहारिक ज्ञानलाई नजिकबाट नियाल्दै खल्तीको आफ्नै कार्यालयमा काम गर्दै अनुभव गर्ने मौका समेत पाउने कम्पनीले जनाएको छ । 

खल्तीका सञ्चालक समितिका सदस्य अमित अग्रवालले फिनटेक क्षेत्रको आवश्यकता, सम्भावित अवसर र आउने चुनौतीहरलाई नजिकैबाट अनुभव गर्दै आएको बताए । फिनटेक क्षेत्रमा आउन चाहने युवाहरूलाई पाठ्यक्रममार्फत नै आवश्यक सीप र ज्ञान प्रदान गर्ने उद्देश्यका साथ अगाडी बढेको बताए । 

खल्ती देशभरका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख  भन्दा बढी एजेन्ट, ६० हजार भन्दा मर्चेन्ट, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था,  १५०० भन्दा बढी सहकारीहरू र ३०० भन्दा बढी कर्मचारीको परिवारमा रूपान्तरण भएको फिनेटक कम्पनी हो । नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस