एनआईसी एशिया बैंकमा सबै कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत 

एनआईसी एशिया बैंकमा सबै कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत 

बैंक खबर । एनआईसी एशिया बैंकले सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ । बैंकले मुलुकको वर्तमान आर्थिक अवस्थाका कारण ऋणी ग्राहकहरूमा परेको असरलाई मध्यनजर गर्दै सो दर कायम गरेको जनाएको छ । 

यस सहुलियत पश्चात् यसभन्दा अगाडि ३ प्रतिशत भन्दा बढी प्रिमियम भएका ग्राहकहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको बैंकले जनाएको छ । जसअनुसार बैंकको मंसिर महिनाको औषत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरेको छ ।

बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, सेयर कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको बैंकले जनाएको छ । आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई कर्जा भुक्तानीमा सहज हुने विश्वास बैंकले लिएको छ । 

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६५६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जालबाट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस