१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

बैंक खबर। नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले २०८० असोज २५ गते बोलकबोलमार्फत ८ वर्ष अवधिको विकास ऋणपत्र निष्काशन गर्ने भएको हो । ऋणपत्रको नाम ‘विकास ऋणपत्र २०८८ ‘घ’ (८ वर्षे)’ रहेको छ । 

ऋणपत्र बंैक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । ऋणपत्रको बोलकबोल असोज २५ गते बिहीबार अपरान्ह ३ बजेसम्म हुनेछ । 

ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइनेछ । असोज २६गते निष्काशन हुने ऋणपत्र २०८८ असोज २६ गते परिपक्व हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । 

ईच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने छन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ र १ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने छ ।

खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलपत्र पेश गर्न सक्नेछन् ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस