गभर्नर अधिकारीसहितको टोली एपीजीको वार्षिक बैठकमा भाग लिई स्वदेश फिर्ता

गभर्नर अधिकारीसहितको टोली एपीजीको वार्षिक बैठकमा भाग लिई स्वदेश फिर्ता

बैंक खबर । गभर्नर महाप्रसाद अधिकारी २०८० असार २४ देखि २९ गतेसम्म क्यानाडाको भ्यानकुभरमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) को वार्षिक प्लेनरी बैठकमा सहभागी भई साउन ३ गते स्वदेश फर्किएका छन् । 

बैठकमा एपीजीका सदस्य राष्ट्रहरू र पर्यवेक्षक/समीक्षकका रूपमा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ), विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, युएन अफिस अफ ड्रग्स एण्ड क्राइम (युएनओडीसी) लगायतका संस्थाको सहभागिता रहेको थियो ।

बैठकमा गभर्नर अधिकारीको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी राष्ट्रिय समन्वय समितिका संयोजक उदयराज सापकोटा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव एवम् पारस्परिक मूल्याङ्कन मूल समितिका संयोजक धनराज ज्ञवालीसहित पारस्परिक मूल्याङ्कनमा प्रत्यक्ष सहभागी भएका विभिन्न निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

उक्त बैठकले यस वर्ष सम्पन्न भएका नेपाल, ब्रुनाई र लाओसको पारस्परिक मूल्याङ्कन प्रतिवेदन पारित ग¥यो । साथै, बैठकले मङ्गोलिया, थाइल्याण्डलगायतका देशको वार्षिक प्रगति विवरणउपर छलफल गरी ती देशका अनुगमन प्रतिवेदन पारित ग¥यो ।

उक्त बैठकमा नेपालको पारस्परिक मूल्याङ्कनको प्रारम्भिक प्रतिवेदनका सम्बन्धमा विस्तृत छलफल हुँदा मूल्याङ्कनकर्ताले यसअघि मूल्याङ्कन गरेको रेटिङमा एउटा सुझाव स्तरोन्नति भई उक्त प्रतिवेदनमा उल्लेखित अवस्थामा केही सुधार भएको थियो । बैठकमा नेपालको यससम्बन्धी कानुन निर्माण र संशोधनसम्बन्धी विषयले उच्च प्राथमिकता पाएको थियो । प्लेनरी बैठकले पारित गरेको पारस्परिक मूल्याङ्कन प्रतिवेदनको फलोअप प्रतिवेदन एपीजीमा पेस गर्नुपर्ने हुन्छ भने यस अवसरमा पारित भएका पारस्परिक मूल्याङ्कन प्रतिवेदन एफएटीएफमार्पmत ग्लोबल नेटवर्कमा

सञ्चार भएपश्चात् सुझावमा रहको बुँदाहरू कार्यान्वयनमा लैजाने एक्सन प्लानसहितको प्रतिबद्धता सरकारले एफएटीएफसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ । यस सिलसिलामा मुलुक प्रत्यक्ष निगरानीमा रहनुअघि एफएटीएफले नेपाललाई अब्जरभेसन अवधि प्रदान गर्नेछ जुन अवधिमा सुझाइएका कार्यहरू कार्यान्वयन हुने अपेक्षा राखिएको हुन्छ । यी सुझावहरू एफएटीएफका मापदण्ड र अन्य मुलुकले पालना गर्दै आएका विषयलाई आधार मानी पारित भएका हुन्छन् ।

गभर्नर अधिकारीले बैठककै क्रममा सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा. पी. नन्दलाल विरासिब्घेसँग साइडलाइन बैठक गरेका थिए । उक्त बैठकमा नेपाल र श्रीलङ्काको वर्तमान आर्थिक स्थिति, दुई केन्द्रीय बैंकबीचको सम्बन्ध र द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल भएको थियो । साथै, गभर्नर अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलमा सहभागी युएस ट्रेजरी, युएस डिपार्टमेन्ट अफ जस्टिस र युएस डिपार्टमेन्ट अफ स्टेटको टोलीसँग समेत छलफल गरेका थिए । छलफलमा नेपालको पारस्परिक मूल्याङ्कन प्रतिवेदनले औँल्याएका विषयहरू समेटिएको थियो ।

एपीजीको वार्षिक बैठकपश्चात् गभर्नर अधिकारीले अमेरिकाको वाशिङ्गटन डीसीस्थित अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख्यालयमा कोषका डेपुटी मेनेजिङ्ग डाइरेक्टर एन्टोनेट सायहसहित साउथ इस्ट एसिया भोटिब ग्रुपका कार्यकारी निर्देशक, मनी एण्ड क्यापिटल मार्केट (एमसिएम) डिपार्टमेन्ट, लीगल डिपार्टमेन्ट र इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरशे न (डिएफसी) का विशिष्ट पदाधिकारीहरूसँग सेफगार्ड एसेसमेन्ट, विस्तारित कर्जा सुविधा, पारस्परिक मूल्याङ्कनलगायत अन्य सान्दर्भिक विषयमा द्विपक्षीय छलफल गरेका थिए ।

एपीजी एफएटीएफ स्टाइल क्षेत्रीय निकाय (एफएसआरबी) हो र यसले एसिया प्यासिफिक क्षेत्रमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एफएटीएफ मापदण्डअनुसारको नीति, नियम र सोको कार्यान्वयनका लागि आवश्यक अनुगमन र समन्वय गर्ने गर्दछ । यसले सन् २०२१ देखि नेपालको तेस्रो चरणको पारस्परिक मूल्याङ्कन गरिरहेको छ । सन् १९९५ मा स्थापित यस संस्थामा हाल एसिया प्यासिफिक क्षेत्रका ४१ वटा राष्ट्रहरू सदस्य रहेका छन् । एपीजीको मुख्य सचिवालय अष्ट्रेलियाको सिड्नीमा अवस्थित छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस