राष्ट्रिय वाणिज्य बैंक र हुलाक सेवा विभागबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र हुलाक सेवा विभागबीच सम्झौता

बैंक खबर । आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । सम्झौतापत्रमा हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

देशभरका ६८ हुलाक कार्यालयबाट करिब ५७ हजार सर्वसाधारणको बचत खाता तथा करिब एक हजार सात सय कर्मचारीहरुको ऋण लगानीका खाताहरु विभागले बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत यही असार २८ गतेभित्र विवरण हस्तान्तरण गर्ने छ । हुलाक बचत बैंकका निक्षेपकर्ताहरुले रा.वा.बैंकको नजिकैका शाखा कार्यालयमा गई नियमानुसार खाता आद्यवधिक गरी आफ्नो नियमित कारोबार आगामी साउन १ गते देखि गर्न सक्नेछन् । यसरी खोलिने सम्पूर्ण खातावालाहरुलाई बैंकले चेकबुक, एटीएम कार्ड, मोवाइल बैंकिङ सेवा, एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने छ ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आ.व.२०३२/०३३ सालदेखि सर्वसाधारणको बचत संकलन गर्ने र आ.व.२०६०/०६१ देखि ऋण लगानी समेत गर्ने अनुमति दिएको थियो । हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप संकलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारीहरु रहदैँ आएको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ, क्यूआर कोड, पस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने मोवाइल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।


 

All financial information at your fingertips.


शेयर गर्नुहोस