सीबीफिन, डोल्मा कन्सल्टिङ र आईआईएनबीच वातावरणीय, समाजिक तथा सुशासन प्रवद्र्धन गर्ने सम्झौता

सीबीफिन, डोल्मा कन्सल्टिङ र आईआईएनबीच वातावरणीय, समाजिक तथा सुशासन प्रवद्र्धन गर्ने सम्झौता

बैंक खबर । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन), डोल्मा कन्सल्टिङ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)बीच वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी)सँग सम्बन्धित गतिविधि सञ्चालन गर्ने समझदारी भएको छ ।  यससम्बन्धी सम्झौतापत्रमा शुक्रवार काठमाडौंमा सीबीफिनका अध्यक्ष पवनकुमार गोल्यान, डोल्मा कन्सल्टिङका प्रबन्ध निर्देशक जोसेफ सिल्भानस र आईआईएनका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

लगानीकर्ता संस्था र कम्पनीले लगानी गर्दा वातावरणीय, सामाजिक र सुशासनको क्षेत्रमा देखिने जोखिमको अध्ययन, मूल्यांकन, सुधार तथा व्यवस्थापन जस्ता साझा हितका कार्यमा संयुक्त रूपमा सहकार्य गर्ने सम्झौताको मुख्य उद्देश्य रहेको छ ।

नेपाल राष्ट्र बैंक, विकास वित्तीय संस्थासहित अन्य सहयोगी एवं साझेदार संस्थाहरूसँग समेत सहकार्य गरी पर्यावरण तथा सामाजिक जोखिम व्यवस्थापन प्रणाली र विश्वव्यापी उत्कृष्ट अभ्याससम्बन्धी नीतिगत विषयमा सार्वजनिक–निजी बहस तथा पैरवी गरी कार्यान्वयन तथा सुधारका लागि सम्बन्धित निकायमा पहल गरिने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौताअनुसार सीबीफिनले कुनै आर्थिक व्ययभार नपर्ने गरी बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं दिगो विकासका लागि सार्वजनिक–निजी संवाद, अध्ययन तथा अनुसन्धानका गतिविधिहरू सञ्चालन गर्नेछ । यसैगरी ग्रीन फाइनान्सिङ, लगानीका क्षेत्रहरूको पहिचान, पूँजी निर्माण तथा लगानी प्रवद्र्धन, उत्पादनमूलक, रोजगारमूलक र निर्यातमूलक क्षेत्रमा लगानी विस्तार, एसएमइजको प्रवद्र्धन र वित्तीय समस्याको समाधानका विषयमा बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गर्नेछ । यस्ता गतिविधिले बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन तथा सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्नुका साथै संस्थागत प्रोफाइल बढाउन समेत टेवा दिने अपेक्षा गरिएको छ ।  

डोल्मा कन्सल्टिङले स्रोत व्यवस्थापन, ईएसजीका गतिविधिलाई दिगो बनाउन क्षमता विकासका गतिविधिको तर्जुमा, सञ्चालन, व्यवस्थापन, अनुगमन तथा मूल्यांकनसहित जानकारीको आदानप्रदान गर्नेछ । 
आईआईएनले समग्र गतिविधिको कार्यान्वयनको पर्यवेक्षण, स्रोत पहिचान तथा परिचालन ईएसजीको प्रवद्र्धन गर्न आवश्यक वकालतको काम गर्नेछ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस