बैंकिङ निक्षेप करिब ५६ खर्ब, चर्को ब्याजदरको कारण कर्जाको माग न्यून

बैंकिङ निक्षेप करिब ५६ खर्ब, चर्को ब्याजदरको कारण कर्जाको माग न्यून

बैंक खबर । बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ९९ अर्ब पुगेको छ । कर्जा प्रवाह ४८ खर्ब ५९ अर्ब रुपैयाँ छ । पछिल्लो एक महिना निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह नहुँदा बैंक तथा वित्तीय संस्थामा ३ खर्ब ५७ अर्ब रुपैयाँ भन्दाबढी तरलता थुप्रिएको छ । 

कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८३.६२ प्रतिशतमा झरेको छ । बैंकहरुले सीडी रेसियो ९० प्रतिशत भित्र राखेर कर्जा प्रवाह गर्न पाउँछन् ।  

पछिल्लो समय बैंकहरुको निक्षेपको वृद्धि उच्च भएको र कर्जाको माग न्यून भएका कारण तरलता थुप्रिदै गएको हो । व्यसायीहरुले कर्जाको ब्याजदर उच्च भएको कारण थप लगानी बढाउने योजना ल्याउन सकिरहेका छैनन् । अर्कोतर्फ बजारमा माग पक्ष कमजोर भएकाले पनि निजी क्षेत्रले तत्काल ऋण लिएर लगानी गरिहाल्ने जोखिम लिन नसकेका हुन् । आइतबार उद्योग परिसंघका पदाधिकारीहरुले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर यही समस्या राखेका थिए ।यही कारण निक्षेप बढ्दै जाने तर कर्जा प्रवाह नहुने स्थिति देखापरेको छ । 

एक साता अघि अधिक तरलता भएपछि अन्तरबैंक ब्याजदर दुई प्रतिशत हाराहारी झरेको थियो । यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले करिब २४ अर्ब रुपैयाँ तरलता खिचेको थियो । त्यसपछि अन्तरबैंक ब्याजदर ५ प्रतिशत पुगेको छ । 

आर्थिक वर्षको अन्तिम महिनामा बैंकहरुले त्यसैपनि नयाँ कर्जा दिँदैनन् । जस कारण कर्जा प्रवाह न्यून भएको देखिन्छ । जेठ मसान्तमा ५५ खर्ब ४७ अर्ब निक्षेप र ४८ खर्ब ५३ अर्ब कर्जा थियो । जेठ १४ गतेसम्म निक्षेप ५२ अर्ब रुपैयाँले बढेर ५५ खर्ब ९९ अर्ब पुगेको छ भने कर्जा प्रवाह जम्मा ६ अर्बले बढेर ४८ खर्ब ५९ अर्ब पुगेको छ ।  

पछिल्लो समय रेमिट्यान्समा आएको वृद्धि र सरकारी खर्च बढ्दा बजारमा तरलताको स्थितिमा सुधार आएको हो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस