तरलता परीक्षण गर्न बैंकिङ प्रणालीमा ६६ करोड रुपैयाँ निक्षेप पठाउँदै राष्ट्र बैंक

तरलता परीक्षण गर्न बैंकिङ प्रणालीमा ६६ करोड रुपैयाँ निक्षेप पठाउँदै राष्ट्र बैंक

बैंक खबर । अहिले बैंक तथा वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति छ । राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा अहिले ५५ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ४८ खर्ब ६३ अर्ब रुपैयाँ छ । निक्षेप बढ्दै जाने तर कर्जाको माग नहुँदा बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.९२ प्रतिशत छ । यो भनेको बैंकहरु अझैपनि करिब ३ खर्ब रुपैयाँ लगानी गर्न सक्ने क्षमतामा देखिन्छन् ।

राष्ट्र बैंकले अधिक तरलताको स्थिति देखा परेपछि यसअघि दुई पटकसम्म रिभर्स रिपो जारी गरेर तरलता व्यवस्थापन गर्न खोजेको थियो । तर, आइतबार २० अर्ब रुपैयाँ माग गरेकामा बैंकहरूले जम्मा १४ अर्ब रुपैयाँ मात्रै राष्ट्र बैंकलाई दिए । एकातिर अधिक तरलता भएको भन्दै बैंकहरुको अन्तर बैंक ब्याजदर साढे दुई प्रतिशतमा झरेको र अर्कोतिर राष्ट्र बैंकले रकम खिच्न खोज्दा मागेजति रकम नपाएपछि राष्ट्र बैंकले तरलताको वास्तविक स्थिति थाहा पाउन ६६ करोड रुपैयाँको निक्षेप राख्न आह्वान गरेको देखिन्छ । 

राष्ट्र बैंकले सूचना जारी गरेर ६६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप लगानी गर्ने जनाएकोे हो । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा संस्थागत निक्षेपको रूपमा राख्न लागेको हो । वाणिज्य बैंकहरू, राष्ट्रियस्तरका विकास बैंक र फाइनान्स कम्पनीले निक्षेप लिन राष्ट्र बैंकमा प्रस्ताव गर्न सक्नेछन् ।
करिब साढे दुई प्रतिशतमा झरेको बैंकहरुको अन्तरबैंक ब्याजदर अहिले फेरी ५.११ प्रतिशतमा पुगिसकेको छ । यही कारण पनि राष्ट्र बैंकले निक्षेप पठाएर तरलताको स्थिति परीक्षण गर्न लागेको केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् । 

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ५२ करोड ८० लाख रुपैयाँ, विकास बैंकमा नौ करोड ९० लाख रुपैयाँ र फाइनान्स कम्पनीमा तीन करोड ३० लाख रुपैयाँ निक्षेप राख्ने जनाएको छ । यस्तो निक्षेप एक वर्षको लागि राख्न लागेको केन्द्रीय बैंकले जनाएको छ । निक्षेपको अवधि २०८० असार २१ देखि २०८१ असार २१ गतेसम्म तोकिएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले असार १५ गते बेलुका ७ बजेभित्र लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ ।

निक्षेप लिन बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी भएको हुनुपर्ने सर्त राखेको छ । यसबाहेक, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, घरजग्गा कर्जा तोकिएको सीमाभन्दा बढी नभएको, सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा उनीहरू संस्थामा कायम नरहेको वा जरिबाना भुक्तान गरेको मितिले छ महिना समयावधि पूरा भएकोे हुनुपर्नेछ ।

यस्तै, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, बैंक तथा वित्तीय संस्था समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको र सर्वसाधारणको लागि छुट्याएको सेयर जारी गरिसकेका बैंक तथा वित्तीय संस्थाले निक्षेप लिन प्रस्ताव पेस गर्न सक्नेछन् ।

All financial information at your fingertips.


शेयर गर्नुहोस