असारमा निक्षेपको ब्याजदर नघट्ने

असारमा निक्षेपको ब्याजदर नघट्ने

बैंक खबर । अहिले बैंक तथा वित्तीय संस्थामा तरलता बढ्दै गएपछि बैंक तथा वित्तयि संस्थाले असारबाट ब्याजदर घटाउने अनुमान गरिएको थियो । तर वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुको संगठन नेपाल बैंकर्स संघले असारमा निक्षेपको ब्याजदर नचलाउने निर्णय गरेको छ । बैंकहरुले वैशाखदेखि कायम ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिने निर्णय गरेका हुन् । 

कर्जाको ब्याजदर चर्को भएको भन्दै विरोध भएपछि बैंकहरुले वैशाखमा निक्षेपको ब्याजदर घटाएका थिए । त्यसलगत्तै नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घट्ने गरी नीतिगत व्यवस्था गरिदिएको थियो । वाणिज्य बैंकहरुले वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव ९९ प्रतिशत ब्याजदर दिएका छन् । यस्तै संस्थागत निक्षेपमा ब्याजदर ७ दशमलव ९९ प्रतिशत र साधारण बचतमा ब्याजदर ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशत कायम गरेका छन् । 

निक्षेपको ब्याजदर घट्दा कर्जाको पनि ब्याजदर घट्छ । तर बैंकहरुले नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी थालिरहेको बेला ब्याजदर चलाउन ठिक नहुने भन्दै असारमा यथावत राख्ने निर्णय गरेका हुन् । 
अहिले बैंकहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८४.४० प्रतिशतमा झरेको छ । बैंकहरुले बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी ऋण लगानी गर्न पाउने व्यवस्था छ । सोही बमोजिम अहिले बैंकहरु थप तीन खर्ब रुपैयाँ जति ऋण प्रवाह गर्नसक्ने क्षमता राख्छन् । तर कर्जाको माग पनि बढ्न नसकेको भएपनि आर्थिक मन्दी अझै कायमै रहेकाले बैंकहरुले ब्याजदर घटाउन नचाहेको देखिन्छ । 

अहिले वित्तीय प्रणालीमा ५५ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप छ  भने कुल कर्जा प्रवाह ४८ खर्ब ५३ अर्ब रुपैयाँ छ । बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि अन्तरबैंक ब्याजदर पनि घटेर ६.१८ प्रतिशतमा झरेको छ । 
तर पनि बैंकहरु तत्काल ब्याजदर घटाएर कर्जा बढाउन चाहेका छैनन् । यसको कारण कोभिड–१९को समयमा अधिक तरलता हुँदा अन्धाधुन्ध ऋण प्रवाह गरेका बैंकहरुलाई अहिले रिकभरीमा समस्या परेको छ । बैंकहरुको ध्यान अहिले नयाँ ऋण प्रवाह भन्दा पुरानो उठाउनेमा बढी रहेको एक बैंकरले बताए । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस