तरलता व्यवस्थापनका लागि १० महिनामा राष्ट्र बैंकले बैंकहरुलाई दियो ४९ खर्ब

तरलता व्यवस्थापनका लागि १० महिनामा राष्ट्र बैंकले बैंकहरुलाई दियो ४९ खर्ब

बैंक खबर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनामा बैंक तथा वित्तीय संस्थाहरुमा ४९ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन देखि वैशाख मसान्तसम्म रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ, सोझै खरिद बोलकबोलमार्फत ८९ अर्ब ७० करोड रुपैयाँ, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २६ अर्ब ९६ करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधा १७ खर्ब १८ अर्ब ८ करोड रुपैयाँ तरलता प्रवाह गरेको देखिन्छ । 

यस्तै, यो अवधिमा तरलता अधिक भएको बेला राष्ट्र बैंकले रिभर्स रिपोमार्फत ५ अर्ब तरलता प्रशोचन गरिएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद ७३ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब ७४ करोड खुद खरिद गरी ६ खर्ब १९ अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी २ खर्ब ५६ अर्ब ७३ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो । 

समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८६ करोड बिक्री गरी ५ खर्ब ४ अर्ब ११ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ९६ करोड बिक्री गरी ४ खर्ब ७५ अर्ब ६८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस