पाकिस्तानको नीतिगत ब्याजदर २१ प्रतिशत पुग्यो

पाकिस्तानको नीतिगत ब्याजदर २१ प्रतिशत पुग्यो

अर्थतन्त्र । पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले नीतिगत ब्याजदर १०० आधार विन्दुले बढाएको छ । यससँगै नीतिगत ब्याजदर २१ प्रतिशत पुगेको छ । यो ब्याजदर अहिलेसम्मकै उच्च हो । 

केन्द्रीय बैंकले महँगी नियन्त्रण गर्न ब्याजदर बढाउने नीति अवलम्बन गरिरहेको  छ । मार्च महिनाको तथ्यांक अनुसार पाकिस्तानको मुद्रास्फीति ३५ प्रतिशतभन्दा माथि छ । 

ब्याजदरमा उच्च वृद्धिभएपछि पाकिस्तानको मुद्रा केही बलियो बन्ने अपेक्षा गरिएको छ । बुधबार मुद्रा बजारमा पाकिस्तानी मुद्रा प्रतिडलर २८७ रुपीमा झरेको छ । मंगलबार मात्रै डलरको तुलनामा पाकिस्तानी रुपी १ प्रतिशतले घटेको थियो । 

विश्वभर उपभोक्ता मूल्य आकाशिएको छ । पाकिस्तानमा डलरको तुलनामा त्यहाँको मुद्रा कमजोर हुनु, उर्जा शुल्कमा गरिएको वृद्धि र रमादानका कारण खाद्यान्नको भाउ बढ्दा मुद्रास्फीतिमा चाप अझै बढेर जाने अनुमान गरिएको छ । अहिलेपनि मूल्यवृद्धिले मानिसहरुको खर्च गर्ने क्षमतामा कमि आएको छ । 

अहिले पाकिस्तानमा खाद्यान्न, पेय र यातायात सबै महँगो बनेको छ । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषसँग रोकिएको वित्तीय उद्धारको किस्ता फुकाउने विषयमा वार्तारत छ । पास्तिान सरकारले मुद्रा कोषले राखेका सबै शर्तहरु मानेको छ तर पनि आवश्यक सहयोग प्राप्त गर्न सकेको छैन । 

गत मार्चमा पनि पाकिस्तानको केन्द्रीय बैंकले नीतिगत ब्याजदर एकैपटक ३०० आधार विन्दुले बढाएको थियो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस