लघुवित्त संस्थाहरुको खराब कर्जा बढ्दै, नाफा साढे २४ प्रतिशतले घट्यो

लघुवित्त संस्थाहरुको खराब कर्जा बढ्दै, नाफा साढे २४ प्रतिशतले घट्यो

बैंक खबर । लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा उच्च दरमा बढेको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरूको गैरस्थलगत सुपरीवेक्षण प्रतिवेदनअनुसार २०८० पुस मसान्तमा औसत निष्क्रिय कर्जा छ दशमलव ८५ प्रतिशत पुगेको छ । यो निष्क्रिय कर्जा असार मसान्तको तुलनामा धेरै हो । गत असारमा करिब पाँच प्रतिशत हाराहारी निष्क्रिय कर्जा थियो ।

राष्ट्र बैंकका अनुसार खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जामा उच्च वृद्धि भएको छ । २०८० पुस मसान्तमा यस्ता लघुवित्तको निष्क्रिय कर्जा सात दशमलव ४९ प्रतिशत कायम छ । प्रतिवेदनमा खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा २८ अर्ब ८९ करोड रुपैयाँ छ । गत असारमा यी लघुवित्तको निष्क्रिय कर्जा पाँच दशमलव ५२ प्रतिशत थिया । असारयता े निष्क्रिय कर्जा ४० दशमलव ७८ प्रतिशतले बढेको छ । सञ्चालनमा रहेका ५७ लघुवित्त वित्तीय संस्थामध्ये ५४ वटा खुद्रा कर्जा प्रदायक र बाँकी तीनवटा थोक कर्जा प्रदायक लघुवित्त व्यवसाय गर्ने संस्था हुन् ।

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा रकम पनि उच्च दरमा बढेको छ । असार मसान्तको तुलनामा यस्ता लघुवित्तहरूको निष्क्रिय कर्जा दुई दशमलव २५ प्रतिशतले बढेको छ । कुल निष्क्रिय कर्जा एक अर्ब २२ करोड रुपैयाँ छ । असार मसान्तमा निष्क्रिय कर्जा शून्य दशमलव ८७ प्रतिशत थियो । यो अवधिमा निष्क्रिय कर्जा एक सय ८५ दशमलव ६५ प्रतिशतले बढेको छ । 

२०८० पुस मसान्तसम्म खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले ४२ अर्ब १७ करोड रुपैयाँ कर्जा पुनर्तालिकीकरण गरेका छन् । यस्तै थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले २६ करोड रुपैयाँ पुनर्तालिकीकरण गरेका छन् । लघुवित्तबाट कर्जा लिएका ऋणीले साँवा ब्याज भुक्तानी गर्न नसकेपछि केन्द्रीय बैंकको व्यवस्थाअनुरूप लघुवित्तहरूले ऋणको पुनर्तालिकीकरण गरेका हुन् । 

निष्क्रिय कर्जा बढ्दै गएपछि लघुवित्तहरूको निष्क्रिय कर्जा नोक्सानी व्यवस्था १४ अर्ब ८८ करोड रुपैयाँ छ । यसमध्ये थोक कर्जा प्रदायक लघुवित्तहरूको निष्क्रिय कर्जा नोक्सानी व्यवस्था असारको तुलनामा ६७ दशमलव ८६ प्रतिशत बढेर ७१ करोड रुपैयाँ पुगेको छ । यस्तै खुद्रा कर्जा प्रदायक लघुवित्तहरूको निष्क्रिय कर्जा ३२ दशमलव ८९ प्रतिशतले बढेर १४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

संकटग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा सबैभन्दा धेरै ८८ दशमलव ८९ प्रतिशत छ । त्यसपछि नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा २८ दशमलव ५६ प्रतिशत छ । स्वस्तिक लघुवित्तको १९ दशमलव १८ प्रतिशत, समाज लघुवित्तको १८ दशमलव ९९ प्रतिशत, श्रीजनशील लघुवित्तको १८ दशमलव १९ प्रतिशत, युनिक लघुवित्तिको १६ दशमलव ४८ प्रतिशत र आत्मनिर्भर लघुवित्तको १५ दशमलव २८ प्रतिशत निष्क्रिय कर्जा देखिएिको छ । सबैभन्दा कम निष्क्रिय कर्जा सपोर्ट लघुवित्त वित्तीय संस्थाको एक दशमलव ५४ प्रतिशत देखिएको छ । 

पुस मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरूले कुल चार खर्ब ३९ अर्ब ६१ करोड रूपैयाँ कर्जा लगानी गरेका छन् । यसमध्ये खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्तहरूले तीन खर्ब ८५ अर्ब ५३ करोड रुपैयाँ र थोक खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्तहरूले ५४ अर्ब आठ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । सबै लघुवित्तको कुल ऋण लगानीमध्ये चार खर्ब नौ अर्ब ५० करोड रुपैयाँ ऋण सक्रिय छ भने ३० अर्ब १० करोड रुपैयाँ निष्क्रिय छ । लघुवित्तहरूले २१ अर्ब ९० करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याएका छन् ।

लघुवित्त वित्तीय संस्थाहरूको खुद मुनाफामा ह्रास आएको छ । २०८० पुस मसान्तसम्म थोक कर्जा प्रदायक लघुवित्तहरूले ५९ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् । जुन नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २४ दशमलव ५८ प्रतिशतले कम हो । यो अवधिमा खुद्रा कर्जा प्रदायक लघुवित्तहरूले ३१ करोड रुपैयाँ नाफा कमाएका छन् । जुन नाफा गत वर्षको पुस मसान्तको तुलनामा ८७ प्रतिशतले कम हो । २०७९ पुसमा खुद्रा कर्जा प्रदायक लघुवित्तहरूले दुई अर्ब ४२ करोड रुपैयाँ नाफा आर्जन गरेका थिए । यस अवधिमा ५४ वटा खद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय सस्थाहरूमध्ये २१ वटा लघुवित्तहरू खदनोक्सानीमा छन् ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस