कृत्रिम अभाव र अस्वभाविक मूल्यवृद्धि हुन नदिन साल्ट ट्रेडिङले बजार हस्तक्षेप गर्नुपर्छ : मन्त्री भण्डारी

कृत्रिम अभाव र अस्वभाविक मूल्यवृद्धि हुन नदिन साल्ट ट्रेडिङले बजार हस्तक्षेप गर्नुपर्छ : मन्त्री भण्डारी

काठमाडौँ, भदौ २७ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कृत्रिम अभाव तथा अस्वभाविक मूल्यवृद्धि नियन्त्रणका लागि बजारलाई हस्तक्षेप गर्नुपर्ने बताएका छन् । 

कर्पोरेसनको ६२ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाई नागरिकलाई विश्वास दिलाउने कर्पोरेसनले अझ बढी जिम्मेवार भएर काम गर्नुपर्ने बताएका हुन् । 

मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वभाविक मूल्यवृद्धि हुन नदिन कर्पोरेसनले बजारमा गतिलो हस्तक्षेप गरिराख्नुपर्ने बताए । 

मन्त्री भण्डारीले रासायनिक मलको सहज आपूर्तिमा कर्पोरेसनले नेतृत्वयादी भूमिका निर्वाह गर्नुपर्ने र बजारमा कृत्रिम अभावको अन्त्य गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । 

मन्त्री भण्डारीले व्यवसाय विस्तारका योजना बनाई काम गर्न व्यवस्थापन र कर्मचारीलाई निर्देशनसमेत दिए । 

कार्यक्रममा कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले गुणस्तरीय दैनिक उपभोग्य वस्तु सर्वसुलभ रुपमा जनताको घरदैलोमा पु¥याउन क्रियाशील रहेको बताए । उनले आगामी दिनमा कर्पोरेसनको सेवा र व्यवसाय थप विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

कर्पोरेसनका प्रमुख कार्यकारी अधिृकत उर्मिला श्रेष्ठले आमजनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिइन् । 

कार्यक्रममा एक लाख रुपैयाँ राशिको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ यसवर्षका लागि मानव कल्याण समाज काभ्रेपलाञ्चोक तथा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने कर्मचारीका दुई जना सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको थियो । 

यस्तै कर्पोरेसनका विभिन्न कार्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृतका साथै २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई कदरपत्र प्रदान गरिएको थियो । 


शेयर गर्नुहोस