सेयरबजारमा नेप्से ७०.८१ अंकले बढ्यो, २७ अर्ब २४ करोडको कारोबार

सेयरबजारमा नेप्से ७०.८१ अंकले बढ्यो, २७ अर्ब २४ करोडको कारोबार

सेयरखबर । सेयरबजार परिसूचक नेप्से २९ सय विन्दुभन्दा माथि पुगेर बन्द भएको छ । सोमबार पनि बजार ७० अंकभन्दा बढीले बढेकाले नेप्से २९३१.६५ विन्दुमा पुगेको छ । 

यसदिन पनि कारोबार रकम र बजार पुँजीकरणले नयाँ रेकर्ड बनाएको छ । २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको छ । बजार पुँजीकरण ४६ खर्ब ५३ अर्ब रुपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै उच्च पुँजीकरण हो । सोमबार मात्रै लगानीकर्ताको सम्पत्ति एक खर्ब १२ अर्ब रुपैयाँ बढीले बढेको छ । 

कारोबार भएका २४२ कम्पनीमध्ये १७१ कम्पनीको सेयरमूल्य बढेको छ । ६८ कम्पनीको सेयरमूल्य घटेको छ भने तीन वटाको स्थिर रहेको छ । 
छ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ भने तीन वटा कम्पनीको ९.९९ प्रतिशत मूल्य बढेको छ । बाँकी १० कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरका सेयरधनीले सोमबार पनि १० प्रतिशत गुमाएका छन् । 

लगानी र उत्पादन तथा प्रशोधन बाहेक सबै समूह बढेका छन् । उत्पादन तथा प्रशोधन समूह १.१९ प्रतिशत र लगानी शून्य दशमलव १९ प्रतिशत घटेको छ । सर्वाधिक जीवन बीमा समूह ५.८५ प्रतिशत बढेको छ । त्यसपछि फाइनान्स समूह ४.८१ प्रतिशत, व्यापार समूह ४.१३ प्रतिशत, जलविद्युत ३.४६ प्रतिशत, विकास बैंक ३.०६ प्रतिशत बढेको छ । त्यसपछि निर्जीवन बीमा २.९७ प्रतिशत, बैंकिङ २.९५ प्रतिशत, लघुवित्त १.०८ प्रतिशत, अन्य १.०१ प्रतिशत र म्युचुअल फण्ड ०.९३ प्रतिशत बढेको छ । 

हिमालयन रिइन्स्योरेन्सको सेयरकारोबार सबैभन्दा धेरै १ अर्ब २२ करोड ८१ लाख रुपैयाँ बराबरको भएको छ । शिवम् सिमेन्टको पनि ९१ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।  
 

All financial information at your fingertips.


शेयर गर्नुहोस