सेयरबजार बेस्सरी घट्यो, कारोबारमा नयाँ रेकर्ड, २३ अर्ब ७१ करोडको सेयर बिक्यो

सेयरबजार बेस्सरी घट्यो, कारोबारमा नयाँ रेकर्ड, २३ अर्ब ७१ करोडको सेयर बिक्यो

सेयर खबर । एक महिनादेखि निरन्तर बढेको सेयरबजार मंगलबार बेस्सरी घटेको छ । नेप्से परिसूचक पाँच दशमलव १८ प्रतिशत अर्थात १४५ अंकले घटेर २६५१.३२ विन्दुमा कायम भएको छ । 

छोटो समयमा उच्च अंकले बढेको बजारबाट लगानीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा मंगलबार उच्च अंकको गिरावट आएको विश्लेषण गरिएको छ । 
नेप्सेमा भारी गिरावट आएपनि कारोबार रकममा भने नयाँ कीर्तिमान बनेको छ । मंगलबार मात्रै २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँ बराबरको पाँच करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयर किनबेच भएको छ । 

लगानीकर्ताको सम्पत्ति एक दिनमै २ खर्ब ३० अर्ब रुपैयाँ गुमेको छ । बजार पुँजीकरण ४२ खर्ब ८ अर्ब रुपैयाँमा झरेको छ । 

कारोबार भएका २४२ कम्पनीमध्ये २३३ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । बजार घट्दापनि आठ कम्पनीका सेयरधनीले भने कमाएका छन् । बाँकी एक कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

कारोबारमा आएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स समूह ८.२७ प्रतिशत र होटल तथा पर्यटन समूह ८.०३ प्रतिशतले घटेको छ । त्यसपछि लगानी समूह ६.३७ प्रतिशत, जीवन बीमा ६.३३, बैंकिङ ५.९६, व्यापार ५.८७, विकास बैंक ५.४४, निर्जीवन बीमा ५.०२, जलविद्युत ४.७५, उत्पादन तथा प्रशोधन ४.७१, लघुवित्त ३.८३, म्युचुअल फण्ड १.५५ र अन्य १.३२ प्रतिशतले घटेको छ । 

आठ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशत घटेर बन्द भएको छ । थ्रि स्टार हाइड्रोपावरको १० प्रतिशत र कुथेली बुखरी हाइड्रोपावरको ९.९७ प्रतिशतले सेयरमूल्य बढेको छ । 

हिमालयन रिइन्स्योरेन्सको सेयरकारोबार सबैभन्दा धेरै एक अर्ब ३९ करोड ७८ लाख रुपैयाँको भएको छ ।
 

All financial information at your fingertips.

 

२०८१ साउन २२


शेयर गर्नुहोस