नेपाल क्लियरिङ हाउस र नेप्स गाभिए 

नेपाल क्लियरिङ हाउस र नेप्स गाभिए 

काठमाडौँ, २१ जेठ । भुक्तानी प्रणाली सेवा प्रदायक कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) गाभिएका छन् । एनसिएचएलले नेप्सलाई प्राप्ति गरी सोमबारबाट  ‘नेपाल क्लियरिङ हाउस लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेको हो । 

नेपाल राष्ट्र बैंकका अनुसार साविकको नेप्सेको सम्पूर्ण दायित्व तथा सम्पत्ति सोमबारबाट नेपाल क्लियरिङ हाउसमा सरेको छ । गत चैतमा एनसीएचएलले नेप्सलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौता भएको थियो । त्यसपछि दुवै संस्थाले आआफ्नो विशेष साधारणसभाबाट पारित गरेका थिए । 

बैंक वित्तीय संस्थाहरुको लगानीमा रहेका यि दुवै संस्था नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति प्राप्त संस्था हुन् । नेप्सले हालसम्म विभिन्न कार्ड स्किमका लागि कार्ड स्वीचको पूर्वाधार विस्तार गर्दै बैंक वित्तीय संस्थालाई सेवा दिँदै आएको थियो । त्यस्तै एनसिएचएलले कार्ड बाहेकका विभिन्न विद्युतीय भुक्तानी प्रणाली, पूर्वाधार प्ल्याटफर्ममार्फत आफ्नो सदस्यहरुलाई सेवा दिदै आएको छ ।

२०६५ सालमा स्थापना भएको एनसिएचएलले एनसिएचएल–इसीसी, एनसिएचएल–आइपिएस, कनेक्ट आइपिएस, कर्पोरेट पे, कनेक्ट आरटीजिएस, नेसनल पेमेन्ट इन्टरफेस, नेपाल पे क्युआरजस्ता भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । एनसिएचएलले नेशनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयनमा ल्याउन लागेको छ । ५३ भन्दाबढी बैंक वित्तीय संस्था र एक सयभन्दा बढी अन्य संस्थाले एनसिएचएलको प्रणाली प्रयोग गर्दै आएका छन् ।

२०६९ सालमा स्थापना भएको नेप्सले विभिन्न बैंक वित्तीय संस्थाका लागि केन्द्रिकृतरुपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्ने काम गर्दै आएको छ। नेप्सले ११ बैंक तथा वित्तीय संस्थाको एक हजार छ सयभन्दा धेरै एटिएम, नौ हजारभन्दा बढी पिओएसमार्फत सेवा र इकमर्स कारोबारको सेवा उपलब्ध गराउँदै आएको थियो ।


शेयर गर्नुहोस