सरकारको ऋण दायित्व करिब २४ खर्ब, आठ महिनामा सवा दुई खर्ब थपियो 

सरकारको ऋण दायित्व करिब २४ खर्ब, आठ महिनामा सवा दुई खर्ब थपियो 

बैंक खबर । सरकारको ऋण दायित्व करिब २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तमा सार्वजनिक ऋण  २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । गत असारमा सरकारको कुल ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ थियो । त्यसयता फागुनसम्म सार्वजनिक ऋणको आकार ९२ अर्ब ८२ करोड ७४ लाख रुपैयाँले बढेको छ ।

सरकारले चालू आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुनसम्म)मा दुई खर्ब १८ अर्ब ८६ करोड ६९ लाख रुपैयाँ ऋण लिएको छ । यो अवधिमा एक खर्ब २६ अर्ब तीन करोड ९१ लाख रुपैयाँ ऋणको साँवा भुक्तानी गरेको छ । 

सार्वजनिक ऋणमा बाह्य ऋणको हिस्सा ५० दशमलव ३६ प्रतिशत अर्थात् १२ खर्ब दुई अर्ब ७३ करोड ७७ लाख रुपैयाँ छ । आन्तरिक ऋण ४९ दशमलव ६४ प्रतिशत अर्थात् ११ खर्ब ८५ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ छ । यसमध्ये चालू आर्थिक वर्षको आठ महिनामा बाह्य ऋण ५५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ उठाएको छ भने आन्तरिक ऋण एक खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ उठाएको छ । बाह्य ऋणको तुलनामा आन्तरिक ऋण करिब तीन गुणा बढी उठाएको देखिन्छ ।

नेपालको सार्वजनिक ऋण महिनैपिच्छे बढ्दोक्रममा छ । जसका कारण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सार्वजनिक ऋणको हिस्सा पनि बढ्दै गएको छ । जीडीपीको तुलनामा नेपालको सार्वजनिक ऋण करिब ४५ प्रतिशत हाराहारी पुगेको छ ।

राजस्व संकलन कम हुँदै गएपछि सरकारले विकास निर्माणका लागि मात्र नभएर पुरानो ऋण तिर्नका लागि र प्रशासनिक खचैकै लागि पनि ऋण लिइरहेको देखिन्छ । आर्थिक वर्षको सुरुदेखि नै राजस्व संकलन कम भएपछि सरकार आन्तरिक ऋण प्राप्तिमा बढी केन्द्रित भएकोे छ । यहीकारण सार्वजनिक ऋणको ग्राफको वृद्धि उच्च देखिएको छ ।

कुल सार्वजनिक ऋणलाई २०७८ सालको जनसंख्याअनुसार हिसाब गर्दा प्रतिव्यक्ति ऋण ८१ हजार आठ सय ८९ रुपैयाँ देखिन्छ । 

सरकारले यस आर्थिक वर्षमा दुई खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ वैदेशिक ऋण र दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । मध्यावधिक समीक्षाबाट सरकारले बाह्य ऋण एक खर्ब ८० अर्ब ६७ करोड रुपैयाँ प्राप्ति हुने अनुमान गरेको छ । आन्तरिक ऋण भने लक्ष्य अनुसार नै उठने सरकारको अनुमान छ । 


शेयर गर्नुहोस