राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वालिङमा
बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा न.८ स्थित शाखा कार्यालय वालिङ को समुद्घाटन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आइतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेको बैंकले जनाएको छ । यस पश्चात बैंकको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।
उक्त अवसरमा मन्त्री गुरुङले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुशी लागेको बताउदै नगरको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए । उनले व्यवसायीहरुलाई आफ्नो आर्थिक कारोबार बैंकसँग जोडिएर गर्न आग्रह गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रा.वा. बैंकको कर्जाको ब्याजदर तुलनात्मक रुपमा कम भएको र निक्षेपमा आकर्षक ब्याजदर भएकाले व्यवसायीहरुलाई निर्धक्कसँग बैंकिङ कारोबार गर्न आग्रह गरे ।
गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँड, वालिङ नगरका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, बागमती प्रदेशका प्रादेशिक प्रबन्धक ध्रुब अर्याल, शाखा प्रबन्धकहरु, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । कार्यक्रम प्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए ।
बैंकले देशभर ७७ जिल्लाका सबै सदरमुकामसहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ, क्यूआर कोड, पस सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, बिना इन्टरनेट चल्ने मोवाइल बैंकिङमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
All financial information at your fingertips.