बैंकका सीईओलाई अर्थमन्त्रीले सोधे, कर्जाको माग किन बढेन ?
बैंक खबर । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे बैंकरहरूसँग चासो राखेका छन् । अर्थमन्त्री महतले आइतबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग अर्थमन्त्रालयमा छलफल गर्दै अहिले बैंकिङ प्रणालीमा देखिएको समस्या र तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारण सोधेका हुन् ।
‘बैंक वित्तीय संस्थामा कर्जाको माग के कारणले बढ्न सकेन ?’, अर्थमन्त्री महतले प्रश्न गर्दै भने, ‘अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ ? र यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?’ बैंकहरूको कर्जा असुली गर्न समस्या भएको र खराब कर्जाको अवस्था बढेकोबारे पनि अर्थमन्त्री महतले चासो देखाएका थिए ।
सो अवसरमा नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले अहिले निजी क्षेत्रसहित बैंकिङ क्षेत्रको पनि मनोबल खस्केको बताए । एफपिओको कर लाग्नेगरी बजेटमा भएको व्यवस्था र स्थानीय तहको पैसालाई निक्षेपमा गणना पाउनुपर्ने विषय पनि अध्यक्ष केसीले उठाए ।
साउन लागेपछि स्थानीय तहको पैसा फिर्ता गएको र बैंक वित्तीय संस्थामा करिब डेढ खर्ब निक्षेप घटिसकेको उनको भनाई छ । स्थानीय तहको रकम बैंकमा निक्षेपका रूपमा राख्न पाउनुपर्ने माग बैंकहरूको छ ।
अहिले ब्याजदर घट्ने क्रममा रहेको, कर्जाको माग घटेसँगै प्रिमियम दर घटेको र आधारदर घट्ने क्रममा रहेकाले कर्जाको ब्याजदर एकल अङ्कमा पुग्ने अवस्थामा रहेको बैंकरले बताए । सरकारले निर्माण क्षेत्रलाई गर्नुपर्ने भुक्तानी दिनुपर्ने, जग्गाको हदबन्दी तोकिएका कारण बैंकलाई समस्या भएको, निजी क्षेत्रमा चालुपूँजी कर्जा मार्गदर्शन कार्यान्वयनबारे देखिएको विमतिलगायतका विषयले बैंकिङ क्षेत्र चलायमान हुन नसकेको बैंकरको गुनासो थियो ।
जग्गाको कित्ताकाट खोल्ने, घरजग्गा कारोबारलाई केही खुकुलो बनाउने, साना तथा मझौला उद्योगलाई कर्जा लिने प्रक्रियामा सहजीकरण गराउनुपर्ने तथा उनीहरूलाई सिकाउनुपर्ने, लगानी गर्ने वातावरणमा सहजीकरण गरिनुपर्ने, अन्तर्राष्ट्रिय फण्डबाट पनि ग्रीन फाइनान्समार्फत लगानी ल्याउन सक्नुपर्ने सुझाव बैंकरहरूले दिए ।
अहिले बैंक तथा वित्तीय संस्थालक्षित विभिन्न विरोधका कार्यक्रम भइरहँदा बैंकरहरू सशङ्कित भएको विषय पनि बैंकरहरूले बताए ।
All financial information at your fingertips.