नबिल बैंकको नाफा ७ अर्ब ५२ करोड, ईपीएस २७ रुपैयाँ ८२ पैसा
बैंक खबर । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८०मा ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा खुद नाफा ७६.८६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा उल्लेख्य बढेका कारण खुद नाफा बढेको देखिन्छ ।
बैंकले कमाएको यो नाफा अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै हो ।
ब्याज आम्दानी
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले बढेर १७ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ८ अर्ब ९१ करोड ८८ लाख रुपैयाँ थियो ।
सञ्चालन मुनाफा
बैंकको सञ्चालन मुनाफ पानि ७५.३७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ६ अर्ब २८ करोड १५ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा गत आर्थिक वर्षमा ११ अर्ब १ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
निक्षेप तथा लगानी
बैंकको निक्षेप २१.६५ प्रतिशतले बढेर ३ खर्ब ९६ अर्ब ८३ करोड ३४ लाख पुगेको छ । निक्षेपको तुलनामा कर्जा लगानीको वृद्धिदर केही कम छ । एक वर्षमा बैंकको कर्जा लगानी १०.८२ प्रतिशतले बढेर ३ खर्ब ३२ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको निक्षेप ३ खर्ब २६ अर्ब २२ करोड २३ लाख रुपैयाँ थियो भने कर्जा लगानी ३ खर्ब २० करोड ५६ लाख रुपैयाँ थियो ।
जगेडा कोष
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ सञ्चिति देखिन्छ । यसमध्ये २७ अर्ब ७ करोड ७ लाख रुपैयाँ रिजर्भ कोषमा छ भने रिटेन्ड अर्निङ्समा ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ ।
सूचकहरु
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी बढेको छ । वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी ९ रुपैयाँ १८ पैसा बढेर २७ रुपैयाँ ८२ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६४ पैसा थियो ।
यस्तै, बैंकको मूल्य आम्दानी अनुपात २१.५४ गुणा, प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा र कस्ट अफ फण्ड ७.८१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने १.६२ प्रतिशतबाट बढेर ३.८१ प्रतिशत पुगेको छ ।
वितरणयोग्य मुनाफा
बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९६ करोड १० लाख ९९ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.६१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८९ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो । यो आधारमा बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी १४ रुपैयाँ ६४ पैसा रहेको छ ।
All financial information at your fingertips.