नेपाल बैंकले कमायो ३ अर्ब ४१ करोड, ईपीएस २३ रुपैयाँ २२ पैसा
बैंक खबर । नेपाल बैंकले गत आर्थिक वर्ष २०७९/८०मा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा खुद नाफा १६.७० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढेको देखिन्छ । यद्यपी बैंकको इम्पेरिमेन्ट चार्ज पनि बढेको छ ।
ब्याज आम्दानी
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशतले बढेर ९ अर्ब ४४ करोड रुपैयाँ कायम छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ६ अर्ब ७१ करोड रुपैयाँ थियो ।
सञ्चालन मुनाफा
बैंकको सञ्चालन मुनाफा २१.१९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६३ करोड रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा गत आर्थिक वर्षमा ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
निक्षेप तथा लगानी
बैंकको निक्षेप २४.७२ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब ५४ करोड पुगेको छ । निक्षेपको तुलनामा कर्जा लगानीको वृद्धिदर कम छ । एक वर्षमा बैंकको कर्जा लगानी ४.३२ प्रतिशतले बढेर १ खर्ब ७८ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको निक्षेप १ खर्ब ९६ अर्ब ७ करोड रुपैयाँ थियो भने कर्जा लगानी १ खर्ब ७१ अर्ब ४८ करोड रुपैयाँ थियो ।
जगेडा कोष
१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २१ अर्ब ८८ करोड ४७ लाख रुपैयाँ सञ्चिति देखिन्छ । यसमध्ये २० अर्ब ९१ करोड १४ लाख रुपैयाँ रिजर्भ कोषमा छ भने रिटेन्ड अर्निङ्समा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
सूचकहरु
नाफा बढेपछि बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी २ रुपैयाँ ९३ पैसा बढेर २३ रुपैयाँ २२ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ २९ पैसा थियो ।
यस्तै बैंकको मूल्य आम्दानी अनुपात १०.७२ गुणा, प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा र कस्ट अफ फण्ड ६.९७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने ५५.७४ प्रतिशतले बढेर २.८५ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको खराब कर्जा १.८३ प्रतिशत थियो ।
वितरणयोग्य मुनाफा
बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७१.५६ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ थियो । यो आधारमा बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी ६ रुपैयाँ ६२ पैसा रहेको छ ।
All financial information at your fingertips.