सेयरबजारको घट्दो क्रममा ब्रेक लाग्ने सम्भावना कति छ ?
काठमाडौं, असार १४ ।
गतसाता सेयरबजार ३३ दशमलव १७ अंकले घट्यो । नेप्से दुई हजार छ सय विन्दुभन्दा तल झरेको छ । आर्थिक वर्षको अन्तिम महिना प्राय बजारमा बिक्रीकर्ता हावी हुन्छन् । लगानीकर्ताले असार मसान्तमा बैंकको किस्ता तिर्न र सरकारलाई कर बुझाउन पैसाको जोहो गर्नका लागि सेयर बेच्ने भएकाले बजारमा दबाब पर्न गएको देखिन्छ ।
अर्थतन्त्रका सूचकहरु सबै सकारात्मक छन् । बैंकिङ प्रणालीमा तरलता पनि प्रसस्त छ । कर्जा प्रवाह बढाउनुपर्ने दबाबमा बैंकहरु छन् । तर आर्थिक वर्षको अन्तिम महिना भएकाले नयाँ कर्जा लिएर सेयरमा लगानी गर्नेहरु कम छन् । नयाँ आर्थिक वर्ष सुरु भएपछि सेयर कर्जा प्रवाह बढ्ने अपेक्षा लगानीकर्ताले गरिरहेका छन् । यस्तै केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणलाई तिव्रता दिइसकेको छ । कम्पनीहरुको चौथो त्रैमाससम्मको वित्तीय विवरण पनि सार्वजनिक हुने मिति नजिकिँदै छ । त्यसैले अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसले गर्दा बजारमा सेयरको मागमा वृद्धि हुन सकिरहेको छैन ।
विगतका वर्षमा अधिकांश कम्पनीहरुको वितरणयोग्य नाफामा कमि आएका कारण पनि लगानीकर्ताले यसपटकको वित्तीय विवरणलाई चासोका साथ पर्खिरहेको देखिन्छ । केन्द्रीय बैंकले पछिल्लो पटक लिएका केही नीतिगत विषयले बैंकहरुको नाफामा केही सुधार आउन सक्छ । जसको असर बजारमा पर्नसक्छ ।
तरपनि आर्थिक वर्षको अन्तिम महिना भएकाले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहँदा बजारमा केही दबाब परेको देखिन्छ । गतसाता नेप्से एक दशमलव २६ प्रतिशतले घटेर दुई अजार पाँच सय ९५ दशमलव ७४ विन्दुमा झरेको छ ।
गतसाता कारोबार रकममा पनि संकुचन आएको छ । सातामा पाँचै दिन कारोबार भयो । पाँच दिनमा ३५ अर्ब १३ करोडको कारोबार भएको छ । दैनिक औसत कारोबार सात अर्ब दुई करोड रुपैयाँको भएको छ ।
होटल तथा पर्यटन समूह साताकै उच्च तीन दशमलव ६८ प्रतिशत घटेको छ । पञ्चकन्या माई हाइड्रोपावरको भाउ सबैभन्दा धेरै १७ दशमलव १६ प्रतिशत बढेको छ । जोशी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै २४ दशमलव २९ प्रतिशत घटेको छ । बुटवल पावरको सर्वाधिक दुई अर्ब ६० करोडको सेयर किनबेच भएको छ ।