समग्र आर्थिक स्थायित्व कायम गर्न नेपाल सफल छ – गभर्नर अधिकारी

समग्र आर्थिक स्थायित्व कायम गर्न नेपाल सफल छ – गभर्नर अधिकारी

बैंक खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताले निम्त्याएको चुनौतीका बाबजुद नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको बताएका छन् । पाकिस्तानको इस्लामाबादमा आयोजित ४३औं सार्क फाइनान्स गभर्नर्स ग्रुप मिटिङमा सहभागि भएका गभर्नर अधिकारीले देशको आर्थिक परिदृश्यबारे चर्चा गरेका हुन् । उनले नेपालको वित्तीय क्षेत्र सबल रहेको र पछिल्लो समयमा तरलता तथा ब्याजदरमा देखिएको असहजता विस्तारै कम हुँदै गएको बताए । 

उक्त बैठकमा माल्दीभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैंकका गभर्नरहरूले कोभिड सङ्कटका साथै रुस–युक्रेन युद्धबाट सिर्जित भू–राजनीतिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा देखिएको चुनौती तथा त्यसको समाधानका लागि अवलम्वन गरिएका उपाय र आगामी आर्थिक परिदृश्यका सन्दर्भमा चर्चा गर्नुभएको थियो ।

बैठकमा सार्क क्षेत्रका केन्द्रीय बैंकहरूको सहकार्यमा भइरहेको प्रगति तथा आगामी दिनमा हुनुपर्ने सहकार्य लगायतका एजेण्डामा छलफल भएको थियो ।

दोस्रो सत्रमा बैंकका उप–निर्देशक सिद्धराज भट्टले नेपाल राष्ट्र बैंकको नेतृत्वमा सम्पन्न ‘सार्क क्षेत्रको केन्द्रीय बैंक डिजिटल मुद्राको सम्भावना’ विषयक अध्ययनको नतिजा प्रस्तुत गरे । सो अवसरमा स्टेट बैंक अफ पाकिस्तानका निर्देशक डा. एम फारुक अर्बीले उक्त बैंकको नेतृत्वमा सम्पन्न ‘दक्षिण एशियाली केन्द्रीय बैंकहरुद्वारा अपारम्परिक नीति उपकरणहरुको प्रयोग’ विषयक अध्ययनको नतिजा प्रस्तुत गरिएको थियो । 

कार्यक्रमको दोस्रो दिन आयोजना गरिएको ‘जलवायु परिवर्तन र हरित वित्त पोषण : दक्षिण एशियामा पहल र दृष्टिकोण’ विषयक गोष्ठीमा बैंकका निर्देशक नारायणप्रसाद पोखरेलले नेपालमा जलवायु परिवर्तन र हरित वित्त पोषणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

सो बैठकमा अन्य सार्क मुलुकका प्रतिनिधिले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस