उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे फेरि प्रक्रियामा जान्छौं - कुलमान घिसिङ

उद्योगीले १५ दिनभित्र बक्यौता नतिरे फेरि प्रक्रियामा जान्छौं - कुलमान घिसिङ

२०८१ कात्तिक २८ गते बुधबार । 

 

कर्पोरेट । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुबाट बिजुलीको बक्यौता कानुनबमोजिम उठाइने बताएका छन् । 

बुधबार प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी कार्यकारी निर्देशक घिसिङले जनतालाई अध्यारोमा राखेर उद्योगीलाई दिइएको बिजुलीको बक्यौता नउठे कानुनबमोजिम उठाइने बताएका हुन् । 

“मन्त्रिपरिषद्को निर्देशनअनुसार बक्यौता नतिरेका उद्योगीको लाइन जोडिएको छ, अब उद्योगीहरुले बक्यौता बुझाउनुपर्छ, फेरि पनि आलटाल गरे प्रक्रियाअनुसार अघि बढ्छौँ”, कार्यकारी निर्देशक घिसिङले भने । 

घिसिङले बक्यौता उठाउन सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयल लगायत सकारोकारवाला निकाय सबैले सहयोग गर्नुपर्ने बताए । उनले प्राधिकरणले बक्यौता बुझाउन किस्ताबन्दीको सुविधा दिएपनि उद्योगीहरुले त्यसको सदुपयोग नगरेको जानकारी दिए । उनले अब यो विषय जनसरोकारको विषय भएइकाले सबैको सहयोग हुने विश्वास व्यक्त गरे । 

“लाइन काट्ने, पुनः जोड्ने तर बक्यौता नउठ्ने विषय अब रहन हुँदैन, बक्यौतासम्बन्धी समस्या समाधानको चरणमा पुगेको अवस्थामा प्राधिकरणले सरकारको निर्देशन मानेको हो”, घिसिङले भने । 

कार्यकारी निर्देशक घिसिङले बक्यौता नउठ्दा उत्पादन र प्रसारणलाइन निर्माण तथा नगद प्रवाहमै ठूलो समस्या आउन सक्ने बताए । प्राधिकरणले खपत अनुसारको बिल उद्योगलाई दिएको स्पष्ट पार्दै घिसिङले अहिले प्रिमियम शुल्क मात्रै उठाउन खोजिएको जानकारी दिए । 

विद्युत् नियमन आयोग बाहेक अरु कसैले बिल ठिक होइन भनेर भन्न नमिल्ने बताउँदै चित्त नबुझे सम्बन्धित निकायमा उजुरी गर्न सकिने पनि घिसिङले जानकारी दिए । 


शेयर गर्नुहोस