यसकारण उच्च अंकले बढ्यो सेयरबजार, लगानीकर्ता किन उत्साहित बने ?

२०८१ माघ २० गते आइतबार ।
सेयर खबर । आज सेयर बजारमा हरियाली छाएको छ । कारोबार मापक नेप्से परिसूचक ६९.८० अंकले बढेर दुई हजार ७२७.५८ अंकमा पुगेको छ ।
१२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ बराबरको दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ । आज एक दिनमै लगानीकर्ताको सम्पत्ति एक खर्ब १६ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४५ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ ।
आजको कारोबारमा सबै समूह बढेका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स समूह चार दशमलव ९२ प्रतिशत, निर्जीवन बीमा समूह तीन दशमलव ७१ प्रतिशत र विकास बैंक समूह तीन दशमलव १५ प्रतिशतले बढेको छ ।
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था, विजया लघुवित्त वित्तीय संस्था, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
लामो समय बजार साइडवेज प्रवृतिमा रहदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा थिए । तर अहिले अधिकांश कम्पनीहरुले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका कम्पनीहरुले सेयरधनीको खातामा लाभांश पुर्याइसकेका छन् । यसको असर बजारमा परेको विश्लेषण गरिएको छ । यस्तै अब दुई महिनापछि नेपाल राष्ट्र बैंकको गभर्नर परिवर्तन हुने र नेपाली कांग्रेस निकट व्यक्ति गभर्नर बन्ने हल्ला आएकाले पनि बजारमा असर पारेको विश्लेषकहरु बताउँछन् । अहिलेका गभर्नरप्रति सेयर लगानीकर्ता त्यति सकारात्मक छैनन् । त्यसैले नयाँ गभर्नर आउनुअघि बजारलाई केही माथि पु¥याउने र त्यसबेला नाफा बुक गर्ने रणनीति ठूला र चलाख लगानीकर्ताको हुन सक्छ । ब्याजदर पनि निकै सस्तो छ भने अर्थतन्त्रका अन्य क्षेत्रमा कर्जाको माग न्यून छ । त्यसैले बैंकहरुले सेयरबजारमा जाने कर्जा बढाउन चाहिरहेका छन् । यसले बजारमा थप लगानी भित्रिने सम्भावना छ । यी सबै कुराहरुले सेयर बजारमा सकारात्मक माहोल बन्न सक्ने भन्दै सेयर लगानीकर्ताले खरिद चाप बढाएको देखिन्छ ।
All baking information at your fingertips.