बढ्यो बीमा पोलिसी सरेन्डर

२०८१ माघ २० गते आइतबार ।
बीमा खबर । बीमा पोलिसी त्याग (सरेन्डर) गर्ने बिमितको संख्या बढ्दै गएको छ । यस आर्थिक वर्ष २०८१/८२को पहिलो छ महिनामा ५४ हजार ४ सय १४ वटा बिमितले पोलिसी सरेन्डर गरेका छन् । सरेन्डर भएपछि बीमा कम्पनीहरुबाट सात अर्ब ४६ करोड रुपैयाँ भन्दा बढी पैसा बाहिरिएको छ ।
त्यसो त गत आर्थिक वर्षमा पनि थुप्रै बीमा पोलिसी सरेन्डर भएको थियो । गत वर्ष १ लाख १३ हजार ९७६ वटा बीमा पोलिसी सरेन्डर भएको थियो । बीमा कम्पनीहरुले १४ अर्ब ५० करोड रुपैयाँ पोलिसी सरेन्डरबापत बुझाएका थिए ।
देशमा आर्थिक संकट बढ्दै गएपछि बिमितले आफूले खरिद गरेको पोलिसी सरेन्डर गर्ने गरेको बीमा कम्पनीहरु बताउँछन् । तर जानकारहरु भने बीमा पोलिसी बिक्री गर्ने बेलामा नै ध्यान नदिँदा बिचैमा सरेन्डर गरेर प्रिमियम फिर्ता लिनेहरुको संख्या बढ्दै गएको बताउँछन् । कम आम्दानी भएका मानिसलाई ठूलो रकमको बीमा गराउने र पछि बीमा रकम तिर्न गाह्रो भएपछि पोलिसी सरेन्डर गरेर बाहिरिने क्रम बढ्दै गएको छ ।
कुनैपनि व्यक्तिले जीवन बिमा गरेपछि त्यसको अवधि नपुग्दै बीचमै पोलिसी रोक्नुलाई बीमा पोलीसी सरेन्डर भनिन्छ । प्राधिकरणले जारी गरेको निर्देशिकाअनुसार बीमितले पोलिसी खरिद गरेको तीन वर्षपछि पोलिसी सरेन्डर गर्न पाउँछन् । बीमा पोलीसी सरेन्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशत भुक्तानी दिनुपर्ने व्यवस्था पनि निर्देशिकाले गरेको छ । तर सो अवधिसम्म आर्जित बोनस रकम पनि जोडनु पर्छ ।