सेयरबजार १८ अंकले घट्यो

सेयरबजार १८ अंकले घट्यो

२०८१ पुस २५ गते बिहीबार । 

सेयर खबर । सेयरबजारमा आज कारोबार मापक नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा झरेको छ । नेप्से घटेपनि कारोबार रकम भने केही बढेको छ । सात अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ बराबरको एक करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर किनबेच भएको छ । गत मंसिर २३ गते यता सेयरबजारमा कुनैपनि दिन सात अर्ब बढीको कारोबार भएको थिएन । 

कारोबारमा आएका २४२ कम्पनीमध्ये १८० वटाको सेयरमूल्यमा गिरावट आउँदा बजार दबाबमा परेको हो । बाँकीमध्ये ५५ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने सात वटाको स्थिर रहेको छ ।

होटल तथा पर्यटन बाहेक सबै समूह घटेका छन् । सबैभन्दा धेरै फाइनान्स र विकास बैंक समूह घटेको छ । फाइनान्स समूह २.९३ प्रतिशत र विकास बैंक समूह २.०४ प्रतिशतले घटेको छ । विकास बैंक र फाइनान्स कम्पनी गरी आधादर्जन वित्तीय संस्थामाथि राष्ट्र बैंकले निगरानी बढाएको खबर आएपछि यि दुई समूह बढी प्रभावित भएको देखिन्छ । 

बजार घटेपनि बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.२३ प्रतिशत घटेको छ । त्यसपछि मायाखोला हाइड्रोपावरको सेयरमूल्य ८.४६ प्रतिशत घटेको छ । 

सबैभन्दा धेरै सेयर कारोबार सुपर मादि हाइड्रोपावरको ४४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस