भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
२०८१ पुस ११ गते बिहीबार ।
नयाँदिल्ली । भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई बिहीबार बेलुका ८ः०६ बजे दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)मा भर्ना गरिएको थियो । उनी घरमै बेहोस भएका थिए । उनलाई इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो, जहाँ राति ९:५१ मा उनले अन्तिम सास लिए ।
मनमोहन सिंह दुई पटक देशको प्रधानमन्त्री भए । उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित थिए । यसअघि पनि उनलाई पटकपटक अस्पताल भर्ना गरिएको थियो ।
सिंहको जन्म सन् १९३२ सेप्टेम्बर २६मा पश्चिमी पञ्जाबको गाह गाउँ (अहिलेको पाकिस्तान)मा भएको थियो ।
सिंह सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनले अर्थमन्त्री, केन्द्रीय बैंकका गभर्नर, योजना आयोगको प्रमुख भएर काम गरेका थिए । सिंहले आर्थिक उदारीकरण, निजीकरण र भूमण्डलीकरणका नीतिहरू लागू गरेका थिए जसले भारतीय अर्थतन्त्रलाई नयाँ दिशा दिएको थियो ।