लघुवित्तमा आक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थाका चार संघद्वारा खेद प्रकट

लघुवित्तमा आक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थाका चार संघद्वारा खेद प्रकट

बैंकको खबर । बैंक तथा वित्तीय संस्था विरुद्ध अनर्गल प्रचार भएको भन्दै वित्तीय क्षेत्रका चारवटा छाता संगठनहरुले खेद प्रकट गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्ति बैंकर्स संघले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाध सेवा प्रवाह गराउने वातावरण निर्माण गर्न माग गरेका छन् ।
 
विज्ञप्तिमा केही संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरुलाई तर्साउने तथा धम्क्याउने, काममा अवरोध पु¥याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको उल्लेख छ । विभिन्न लघुवित्त संस्थाहरुका केही शाखाहरुमा तोडफोड, लुटपाट, आगजनी लगायतका निन्दनीय कार्यहरु भएको विज्ञप्तिमा उल्लेख छ । 

विभिन्न जिल्लामा सेवा प्रदान गरिरहेका नौ वटा लघुवित्त वित्तीय संस्थाका १७ वटा शाखा कार्यालयका साइनबोर्ड, ल्यापटप, कागजपत्र जफत गरी तोडफोड गर्ने, आगजनी गर्ने, नहरमा लगेर नष्ट गर्ने जस्ता अराजक गतिविधिहरु अघि बढाएर लघुवित्त क्षेत्रलाई अझ अन्यौलता तर्फ धकेल्ने र कार्यक्रम सञ्चालनमा अवरोध पुयाउने जस्ता कृयाकलाप भएको बताइएको छ । यसबाट  लघुवित्त क्षेत्रमा ठूलो जोखिम उत्पन्न भई ग्रामीण अर्थतन्त्र धराशायी हुने र समग्र बैंकिङ क्षेत्र तथा वित्तीय प्रणालीमा नै असर पुग्ने देखिएको तर्फ संघहरुले चिन्ता व्यक्त गरेका छन् ।

अराजक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन समेत माग गरेका छन् । अत्यावश्यक सेवा अन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण निर्माण गर्न र सुरक्षाको प्रत्याभूतिको लागि स्थानीय प्रशासन र सम्बन्धित निकायसँग आग्रह गरेका छन् । 

बैंक तथा वित्तीय संस्थामा आवद्ध कर्मचारीहरु बिचलित नभई निरन्तर आफ्नो कर्तव्यमा उच्च मनोबलका साथ आ–आफ्नो कार्यमा लागि पर्न पनि संघहरुले अनुरोध गरेका छन् ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस