ब्याजदरले सेयरबजारलाई कसरी प्रभाव पार्छ ?

ब्याजदरले सेयरबजारलाई कसरी प्रभाव पार्छ ?

बैंकको खबर । बैंकको ब्याजदरमा परिवर्तन आउँदा त्यसको असर सबैभन्दा पहिला सेयरबजारमा देखिन थाल्छ । नेपालमा हालै बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएका छन् । यसको प्रभाव सेयरबजारमा देखिने निश्चित छ । 

ब्याजदर बढ्दा के हुन्छ ?
जब ब्याजदर बढ्छ, कर्जाको लागत वृद्धि हुन्छ, र कम्पनीहरुको नाफा प्रभावित हुन सक्छ, गिरावट आउन सक्छ । यस्तै, कम्पनीबाट प्रतिफल कम आउने भएपछि बढी ब्याज दिने बैंकमा निक्षेप राखेर ब्याज खानेहरु बढ्छन् । विभिन्न बण्डमा लगानी गर्न थाल्छन् । लगानीकर्ताहरुले कम्पनीको सेयरमा लगानी गर्न छाड्छन् । गरेको छ भने पनि बिक्री गर्छन । किनभने अब ति कम्पनीहरुको नाफामा गिरावट आउने वाला छ । यसपछि बजारमा सेयरको माग घट्छ, जसले मूल्यमा गिरावट ल्याउँछ । 

ब्याजदर घट्दा के हुन्छ ?
ब्याजदर घट्दा कर्जाको लागत कम हुन्छ, जसले कम्पनीहरूको मुनाफा बढाउन मद्दत पु-याउँछ । अर्कोतर्फ निक्षेपमा पाउने ब्याज भन्दा कम्पनीमा गरेको लगानीबाट बढी प्रतिफल पाउन सकिने सम्भावना हुन्छ । यहीकारण लगानीकर्ताले निक्षेप र बण्डमा गरेको लगानी झिक्छन र बढी प्रतिफल दिन सक्ने कम्पनीको सेयरमा लगानी गर्छन । यसो गर्दा सेयरको माग बढ्न जान्छ र मूल्यमा वृद्धि हुन्छ ।

अब ब्याजदर बढ्दा वा घट्दा सेयरबजारमा पर्ने प्रभावलाई विस्तृतमा हेरौं

 

जब ब्याजदर बढ्छ, सेयरबजारमा निम्न असरहरू पर्न सक्छ ।

एक । कर्जाको लागत
ब्याजदर बढ्दा कम्पनीहरूले लिने कर्जाको लागत वृद्धि हुन्छ । यसबाट कम्पनीहरूको मुनाफामा नकारात्मक असर पर्छ । कम्पनीको नाफा घट्ने भएपछि लगानीकर्ताले ति कम्पनीको सेयर बिक्री गर्न थाल्छन् ।

दुई । लगानीको वैकल्पिकता
जब ब्याजदर उच्च हुन्छ, लगानीकर्ताहरू सुरक्षित साधनहरू, जस्तै बैंकको निक्षेप, बण्ड आदीमा आकर्षित हुन्छन् । यसले सेयरको मागमा कमी ल्याउँछ ।

तीन । उपभोक्ता खर्चमा कमी
उच्च ब्याजदरले उपभोक्ताको खर्च र उपभोग्य वस्तुको मागमा कमी ल्याउन सक्छ । यसबाट बजारमा आर्थिक गतिविधि खुम्चिन जान्छ । जसको असर कम्पनीहरूको आम्दानीमा पर्छ । नाफा घटेर जान सक्छ । 

चार । भविष्यको नगद प्रवाहको मूल्यांकन
कम्पनीहरूको भविष्यको मुनाफा र नगद प्रवाहको मूल्यांकन ब्याजदरमा निर्भर गर्दछ । उच्च ब्याजदरले भविष्यको नगद प्रवाहको वर्तमान मूल्यलाई घटाउँछ ।
 

जब ब्याजदर घट्छ, सेयरबजारमा निम्न असरहरू पर्न सक्छ ।

एक । कर्जा लिन सजिलो
ब्याजदर घट्दा कम्पनीहरूलाई कर्जा लिन सजिलो हुन्छ, जसले तिनीहरूको लगानी र विस्तार योजनामा मद्दत गर्छ । यसबाट कम्पनीहरूको मुनाफा बढ्न सक्छ । नाफा बढ्ने भएपछि लगानीकर्ताहरुले सेयर खरिद बढाउँछन् । यसो हुँदा कम्पनीको सेयरमूल्यमा वृद्धि हुन जान्छ ।

दुई । लगानीकर्ताको आकर्षण
ब्याजदरको गिरावटले लगानीकर्ताहरूलाई सुरक्षित साधनहरूमा लगानी गर्ने विकल्पको सट्टा सेयर बजारमा लगानी गर्न प्रोत्साहित गर्छ । यसले सेयरहरूको मागमा वृद्धि ल्याउँछ । बैंकको निक्षेपमा पाउने ब्याजदर भन्दा कम्पनीहरुले वितरण गर्ने प्रतिफल बढी हुने सम्भावना रहन्छ ।

तीन । उपभोक्ता खर्चमा वृद्धि
कम ब्याजदरले उपभोक्तालाई कर्जा लिन प्रोत्साहित गर्छ । कर्जा प्रवाह बढ्दा उपभोक्ता खर्च बढ्छ भने बजारमा आर्थिक गतिविधि बढाउँछ । यसले कम्पनीहरूको आम्दानीमा सकारात्मक असर पार्छ । 

चार । भविष्यको नगद प्रवाहको मूल्यांकन
कम ब्याजदरले भविष्यको नगद प्रवाहको वर्तमान मूल्यलाई वृद्धि गर्न मद्दत गर्छ, जसले सेयरहरूको मूल्यलाई बढाउँछ ।

ब्याजदर बढ्दा वा घट्दा यिनै चार कारणले सेयरबजारको सूचकमा प्रभाव पार्छ । ब्याजदर र सेयर बजारबीचको सम्बन्ध जटिल र परस्पर निर्भर हुन्छ ।

भिडियोमा हेर्नुहोस्

 

 

All banking information at your fingertips.


भिडियो हेर्नुहोस

शेयर गर्नुहोस