बैंकहरुको निक्षेप संकलन ६५ खर्ब ७२ अर्ब पुग्यो

बैंकहरुको निक्षेप संकलन ६५ खर्ब ७२ अर्ब पुग्यो

बैंकको खबर । बैंकहरुको निक्षेप संकलन दिन दिनै बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज १४ गतेसम्म बैंकहरुको निक्षेप संकलन ६५ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । 

दसैँको आगमन भएसँगै वैदेशिक रोजगारीमा गएकाहरुले अन्य अवस्थामा भन्दा बढी रेमिट्यान्स पठाएकाले प्रणालीमा निक्षेप थपिने क्रम बढेको हो । 

कुल निक्षेप संकलनमध्ये वाणिज्य बैंकहरुको निक्षेप ५८ खर्ब ४७ अर्ब रुपैयाँ छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको निक्षेप सात खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । 

निक्षेपको तुलनामा कर्जा विस्तार भने कम देखिएको छ । यद्यपी असोज १४ गते एक दिनमै कर्जा प्रवाह चार अर्ब रुपैयाँ बढेको छ । असोज १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ५२ खर्ब ४८ अर्ब रुपैयाँ छ । यसमध्ये वाणिज्य बैंकहरुको मात्र ४६ खर्ब ४७ अर्ब रुपैयाँ र विकास बैंक तथा फाइनान्स कम्पनीहरुको छ खर्ब एक अर्ब रुपैयाँ छ ।

बैंकहरुले निक्षेपको ९० प्रतिशतसमम कर्जा लगानी गर्न पाउँछन् । अहिले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव ५२ प्रतिशत छ । यसआधारमा बैंकहरुसँग अहिले छ खर्ब ६७ अर्ब रुपैयाँ लगानीयोग्य पैसा छ ।

All banking information at your fingertips.


शेयर गर्नुहोस