शेयर बजारमा टेक्निकल एनलाइसिस कसरी गर्ने ?

शेयर बजारमा टेक्निकल एनलाइसिस कसरी गर्ने ?

शेयर बजार । कुनैपनि कम्पनीको विगतको शेयर मूल्यलाई चार्ट, ग्राफ वा ट्रेन्डमा प्रस्तुत गरी भविश्यमा मूल्यमा हुनसक्ने उतारचढावको अनुमान गर्नु नै प्राविधिक विश्लेषण (टेक्निकल एनलाइसिस) हो । यसलाई चार्ट विश्लेषण पनि भन्ने गरिन्छ । प्राविधिक विश्लेषणबाट शेयरको मूल्य आगामी दिनमा यति पुग्छ भनेर निर्णय गर्ने भन्दा पनि बजार घट्छ वा बढ्छ भनेर अनुमान गर्न सहयोग गर्छ । 

प्राविधिक विश्लेषण कुनै पनि कम्पनीको शेयरको मूल्यमा हुने परिवर्तनको दिशा मापन गर्नको लागि प्रयोग गरिने एउटा गणितीय विधि हो । जसमा शेयरको अघिल्लो समयको खुल्ला मूल्य, बन्द मूल्य, अधिकतम मूल्य तथा न्यूनतम मूल्यको आधारमा गणितीय हिसाबबाट आउँदो समयमा मूल्यले कुन बाटो समाउँछ भनेर अनुमान लगाउने कार्य गरिन्छ । 

प्रविधिक विश्लेषणमा कुनैपनि कम्पनीको शेयरको मूल्यको ट्रेण्डको इतिहास दोहोरिन सक्छ भन्ने मान्यता राखिन्छ । त्यसैले पनि मूल्यको पुरानो इतिहासलाई हेरेर शेयरको मूल्य कता तिर जान्छ भन्ने अनुमान गरिने एउटा विधि प्राविधिक विश्लेषण हो । 

यसलाई अर्को सब्दमा भन्ने हो भने विगतमा कुनै पनि कम्पनीको शेयरको मूल्य तथा कारोबार संख्यामा भएको परिवर्तनको आधारमा भविष्यमा उक्त शेयरको कारोवार संख्या तथा मूल्य वृद्धि भएर जान्छ वा कम भएर जान्छ भनेर गणितीय माध्यमबाट विश्लेषण गर्ने विधि हो ।  

अघिल्लो समयमा भएको बजार कारोबारको गतिविधि भविष्यको लागि आंकलन गर्ने सूचक भएको मान्यता प्रविधिक विश्लेषणले राखेको हुन्छ । प्राविधिक विश्लेषण गर्दा शेयरको निहित मूल्य नहेरी मूल्यमा आउने फरक, तथा मूल्य फरक हुनका कारणहरु, मूल्यको गति तथा प्रवृती आदिको चार्ट गतिविधि, प्राविधिक सूचकहरु र अन्य औजारहरु आदिको माध्यमबाट विश्लेषण गर्नुपर्दछ ।

प्राविधिक विश्लेषणले शेयरको कारोबार मूल्य तथा कारोबार संख्यामा आधारित रहेर विश्लेषण गर्दछ । यसका लागि विभिन्न उपकरणहरु जस्तैः Pivot Point Calculation, Moving Average, Relative Strength Index, Regressions, Standard Deviation, market Price Correlation आदिको प्रयोग प्राविधिक विश्लेषणमा गर्ने गरिन्छ ।

शेयरको विश्लेषण गर्ने क्रममा प्रविधिक विश्लेषणले आधारभूत विश्लेषण भन्दा फरक दृष्टिकोण राख्दछ । यसले आधारभूत विश्लेषणले जस्तै कम्पनी, बजारको अवस्था, र्आिथक अवस्था, मुद्रा वा वस्तुको यथार्थ अवस्था आदिको ध्यान नराखी केवल शेयरको कारोवार मूल्य तथा कारोवार संख्यालाई चार्टमा राखी विभिन्न तथ्यांकीय विधिबाट विश्लेषण गर्ने गर्दछ ।

डेरिभेटिभ तथा शेयर लगानीकर्ता, विदेशी मुद्रा विनिमय गर्ने एजेन्सीहरु, मार्केट मेकरहरु (बजार निर्माता), फरेक्स (विदेशी मुद्रा) ट्रेडरहरु, डे ट्रेडरहरु आदिले बजार विश्लेषणका लागि वृहत रुपमा यसको प्रयोग गर्ने गर्दछन ।

प्राविधिक विश्लेषणले मूल्यको प्रवृती अर्थात मूल्य तल वा माथि वा किनारा कता तर्फ लागेको छ वा लाग्नेछ सो कुराको सूचना प्रदान गर्दछ ।

लगानीकर्ताको व्यवहारले गर्दा इतिहास पुनः दोहोरिने कुराको पुष्ट्याईँ प्राविधिक विश्लेषणले गर्दछ । यसले गर्दा कुनै पनि पेशेवर वित्तिय ब्रोकरेज फर्म तथा कम्पनीहरुले प्राविधिक विश्लेषणलाई विशिष्ट स्थान दिइएको पाइन्छ । त्यसैले त्यस्ता ब्रोकरेज फर्महरुमा प्राविधिक तथा आधारभूत विश्लेषणका लागि छुट्टाछुट्टै विश्लेषण टिमको व्यवस्थापन गरेको हुन्छ । तर नेपालको क्यपीटल मार्केटमा भने यसको प्रयोग निकै कम गरेको पाइन्छ । प्राविधिक विश्लेषणका लागि आवस्यक पर्ने सफ्टवेर नहुनु यसको मुख्य कारण हो । तथापी केही लगानीकर्ताहरुले आफ्नै सफट्वेर मार्फत विभिन्न कम्पनीहरुको चार्ट बनाई प्राविधिक विश्लेषण गरेको पाईन्छ ।

प्राविधिक विश्लेषण गर्ने मुख्य विधिहरुमा चार्ट विश्लेषण र विभिन्न प्राविधिक सूचकहरु पर्दछन् । 

प्राविधिक विश्लेषण गर्नको लागि मुख्यतः चार्ट विधिको प्रयोग गरिन्छ । प्राविधिक विश्लेषणको लागि चार्ट एक प्रमुख साधन हो । स्टक वा वस्तुको मूल्य अघिल्लो समयमा के भइरहेको थियो र अब के हुन्छ भन्ने कुरा चार्ट हेरेर अनुमान गर्न सकिन्छ । 

चार्ट ३ किसिमको हुन्छ लाइन चार्ट, बार चार्ट र क्याण्डल चार्ट । त्यसमध्ये क्याण्डल चार्ट ज्यादा प्रचलित रहेको छ जसबाट बजारको अवस्था बारे स्पष्ट जानकारी पाउन सकिन्छ । यसरी उपलब्ध विभिन्न चार्टहरुको विश्लेषणको लागि ट्रेन्ड रेखा खिचेर शेयरको मूल्य कता तिर जादैँछ भनेर अनुमान गर्न सकिन्छ ।

लाइन चार्ट सामान्यतः शेयरको बन्द मूल्यको विन्दुलाई जोडेर कोरिने गर्दछ । यसमा open price, high price, low price को बारेमा जानकारी पाउन सकिँदैन । त्यसैले प्राविधिक विश्लेषण गर्दा लाइन चार्टको प्रयोग कमै मात्र गरीन्छ । त्यस्तै बार चार्टमा अधिकतम मूल्य र न्यूनतम मूल्यलाई सुरु मूल्य र बन्द मूल्यसँगै बार अथवा धर्कामा प्रस्तुत गरेर देखाइन्छ । यसबाट वस्तुको मूल्य कहाँबाट शुरु भएर अधिकतम तथा न्यूनतम कहाँकहाँ भई अन्त्यमा मूल्य कहाँ बन्द भयो सो कुराको जानकारी पाउन सकिन्छ । यसको पनि निकै कम प्रयोग गरेको पाइन्छ ।

चार्ट analysysगर्दा क्याण्डल चार्ट ज्यादा प्रचलित रहेको छ । जसबाट बजारको अवस्था बारे स्पष्ट जानकारी पाउन सकिन्छ । बार चार्टझैं शुरु मुल्य, बन्द मुल्य, अधिकतम मुल्य र न्यूनतम मुल्यलाई सजिलै देख्न सकिने गरी मैन वा क्याण्डलको आकृतिमा चार्टलाई प्रस्तुत गर्ने विधिलाई क्याण्डल चार्ट भनिन्छ । 

यो सजिलै बुझ्न सक्ने भएकाले पनि चार्ट विश्लेषणका लागि अन्य चार्टहरु भन्दा क्याण्डल चार्ट अत्याधिक प्रचलनमा रहेको छ । क्याण्डल चार्टमा क्याण्डल दुई प्रकारले देखाइन्छ । एउटा घटेको र अर्को बढेको । घटेकोलाई रातो वा कालोमा देखाइन्छ र बढेकोलाई हरियो वा सेतोमा देखाइन्छ ।

चार्टको विश्लेषण गर्दा चार्टको भिन्न भिन्न समय, तथा स्वरुपमा मूल्यलाई राखेर चार्ट विश्लेषण गर्न सकिन्छ ।
प्राविधिक विश्लेषण गर्ने अर्को महत्वपुर्ण विधि सूचक विधि हो । यसमा वस्तुको विभिन्न मूल्यमा आधारित रहेर वस्तुको आउँदो मूल्य अनुमानका लागि विश्वव्यापी रुपमा विकास भई प्रयोगमा आएका विभिन्न प्राविधिक सूचकहरुको प्रयोगबाट पनि बजारको विश्लेषण कार्य गर्न सकिन्छ । 

यसले प्रभावकारी ढंगबाट बजारमा मूल्य कतातिर जान सक्छ भनेर अनुमान गर्ने कार्यमा हामीलाई निर्णय लिने कार्यमा सघाउँदछ । यसका लागि उपलब्ध विभिन्न सूचकहरु,Moving Average, RSI, MACD, Oscillators, Standard Deviations, Bollinger Bands आदि हुन् । 

यसरी उपरोक्त विधिबाट आउने सूचना अनुरुप हामीले कुनै पनि स्टक वा वस्तुको प्राविधिक विश्लेषण गरी आउँदो समयमा मूल्य कता जानेछ निर्णय लिने कार्य गर्दछौं जसबाट हामीले हाम्रो खरिद विक्री कार्यलाई मुनाफा योग्य बाटोतर्फ लैजान सक्दछौं ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस