आर्थिक मन्दीको असर बैंकमा, १६ वटा वाणिज्य बैंकको नाफा घट्यो 

बैंक खबर । अर्थतन्त्रमा देखिएको मन्दीको असर बैंकहरुको वित्तीय विवरणमा देखिएको छ । बैंकहरुले प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकहरुमध्ये १६ वटाको नाफा घटेको छ । 

हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र कृषि विकास बैंकको नाफामा सुधार भएको छ । हिमालयन बैंकको नाफा ५७.५३ प्रतिशत बढेको छ भने प्राइम कमर्सियलको ३२.१३ प्रतिशत र एभरेष्ट बैंकको ७.८८ प्रतिशत बढेको छ । गतवर्ष दोस्रो त्रैमासमा १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले यसपटक एक अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । 

खराब कर्जा बढेपछि प्रोभिजनिङमा बढी रकम छुट्याउनुपर्दा खुद नाफामा दबाब परेको बैंकरहरुले बताएका छन् ।  
पुस मसान्तसम्म बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ९.९४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पुससम्म बैकहरुले ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा कमाएका थिए । 
नाफा घटेपनि सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ कमाएको छ । यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा ६.२८ प्रतिशतले कम हो । 

प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंकको नाफा दुई अर्ब रुपैयाँ भन्दा बढी छ । 

सबैभन्दा कम नाफा नेपाल बैंकको छ । नेपाल बैंकले ५९ करोड नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.६० प्रतिशतले कम हो । गतवर्ष दोस्रो त्रैमासमा नेपाल बैंकको नाफा एक अर्ब १७ करोड रुपैयाँ थियो । 

समग्रमा बैंकहरुको नाफा ९.९४ प्रतिशतले घटेको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस