जनताबाट लिएको स्रोतको दुरुपयोग नगर्न बैंकहरुलाई गभर्नर अधिकारीको आग्रह

बैंक खबर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जनताबाट लिएको स्रोतको दुरुपयोग नगरी उत्पादन बढ्ने क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । शनिबार राष्ट्रिय वाणिज्य बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंकहरुलाई सचेत गराएका हुन् । 

पछिल्लो समय विभिन्न घट्नाहरु आइरहेकाले सचेत रहेर इमान्दारितापूर्वक काम गर्न आग्रह गरे । उनले घुस नदिइकन, मध्यस्थता नगरीकन ऋण नपाउने गरेको गुनासो आइरहेकाले त्यसमा सचेत बन्न आग्रह गरे । स-साना घटना र खराब कामले  पनि संस्थालाई असर पर्ने भएकाले सचेत हुन आग्रह गरे ।

गभर्नर अधिकारीले स्रोतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न बैंकहरुलाई सुझाव दिएका छन् । उनले बैंकिङ क्षेत्रले जनविश्वास कायम गर्नेगरी कार्य गर्नुपर्ने बताए । साना खराब कामले संस्थालाई असर गर्ने हुँदा सचेत भएर काम गर्न पनि आग्रह गरे । 

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समयमा बैंकिङ क्षेत्रको बारेमा विभिन्न टिकाटिप्पणी हुने गरे पनि वित्तीय अवस्था ठिक रहेको बताए । उनले भने, ‘बैंकिङ क्षेत्रको योगदानको लागि सम्मान व्यक्त गर्दछौं ।’ उनले नेपालको बैंकिङ क्षेत्र दक्षिण एशियाकै उत्कृष्ट बैंकिङ क्षेत्र हुन सक्ने बताए । 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समग्र बैंकिङ्ग क्षेत्रको बारेमा अवगत गराएका थिए । उनले राष्ट्रिय वाणिज्य बैंकले दिगो व्यवसायिक वृद्धिको आधार र गुणस्तरमा सुधार भन्ने नाराका साथ कार्य गरिरहेको बताए । 

All financial information at your fingertips.

शेयर गर्नुहोस