राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक
बैंक खबर । नेपाल राष्ट्र बैंकले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । राष्ट्र बैंकको टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधी उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात पुराना मेशिनहरु मर्मत सम्भार गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको अवसरमा महाशाखाले सो मुद्रा प्रचलनमा ल्याएको हो ।
बबरमहलस्थित टक्सार महाशाखामा आयोजित सङ्क्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो । १० ग्राम सिक्काको १ एक हजार ६०० रुपैयाँ र २५ ग्राम सिक्काको ४,००० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ ।
दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।
बैंक सञ्चालक समितिको २०८० जेठ १९ गते बसेको बैठकले उक्त १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।
All financial information at your fingeritps.