प्रभु बैंकले वुलिङ एयर ईभी किन्न ८० प्रतिशतसम्म कर्जा दिने
बैंक खबर । प्रभु बैंकले बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले बिक्री गर्दै आएको वुलिङ एयर ईभी किन्न ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने भएको छ । यसम्बन्धी सम्झौतापत्रमा बैंकका सीबीओ रेनुप्रसाद पान्डे र ईभी नेपाल मोटर्सका तर्फबाट एजीएम नवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ। ईभी नेपालले हाल २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा गाडी बिक्री गर्दै आएको छ । इन्डोनेसियामा निर्माण हुने वुलिङ एयर ईभी विश्वमै लोकप्रिय इलेक्ट्रिक कार हो।
वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो। सिटी ड्राइभिङका लागि उपयुक्त उक्त इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३०० किलोमिटरसम्मको रेन्ज दिन्छ।
अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिने कम्पनीको दावी छ ।
रिमोटबाटै सञ्चालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरणसमेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ।
यो वुलिङ एयर ईभी कार खरिद गर्ने ग्राहकलाई नेपालभरि उपलब्ध गराउने सुविधा छ। काठमाण्डौको नक्साल, भैँसेपाटी र भक्तपुरमा आधिकारिक शोरुमबाट बिक्री भइरहेको छ। नेपालभरि रहेको ५१ भन्दा बढी नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेसनबाट सजिलै छिटो चार्ज गर्न मिल्नेछ।
All financial information at your fingertips.