सरकारका लागि ऋण उठाउन १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
बैंक खबर । नेपाल राष्ट्र बैंकले आज (साउन २८ गते आइतबार) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्दैछ । राष्ट्र बैंकले नेपाल सरकारकालागि आन्तरिक ऋण जुटाउन ८ वर्ष अवधिको विकास ऋणपत्र बिक्री निष्काशन गरेको हो ।
ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । ऋणपत्रमा आज दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ ।
ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ । २०८० साउन २९ गते निष्काशन हुने ऋणपत्र २०८८ साउन २९ गते परिपक्व हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने छ ।
ऋणपत्र खरिदगर्न इच्छुक लगानीकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थार्त ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।
All financial information at your fingertips.