वित्तीय प्रणालीमा सवा अर्ब पठाउँदै राष्ट्र बैंक
बैंक खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब १५ करोड रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्नेगरी वित्तीय प्रणालीमा पठाउन लागेको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा ९२ करोड रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकमा १७ करोड २५ लाख र राट्रिय स्तरका फाइनान्स कम्पनीमा ५ करोड ७५ लाख रुपैयाँ निक्षेप राख्न लागेको हो । यो निक्षेप २०८० भदौ ३ गतेदेखि २०८१ साउन २३ गतेसम्मको लागि बैंक तथा वित्तीय संस्थामा राखिने राष्ट्र बैंकले जनाएको छ ।
मुद्दती निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई उपलब्ध फारम भरेर साउन २३ गतेदेखि २५ गतेसम्म प्रस्ताव गर्नसक्ने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप लिनका लागि राष्ट्र बैंकले केही शर्तहरु पनि राखेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कमितमा दुई वर्ष पूरा गरेको, तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम गरेको, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति विदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन् । यसबाहेक, सीडी रेसियो सीमाभित्र रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, घरजग्गा कर्जा बैंकबाट तोकिएको सीमभन्दा बढी नभएको, बैंकले जरिवाना गरेको सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत कार्यालयमा कार्यरत नरहेको र कायम रहेको अवस्थामा जरिवाना भुक्तान गरेको मितिले ६ महिना समय अवधि पुरा भएको, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तिमा छ महिना पूरा भएको, समस्याग्रस्त घोषणा नभएको वा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको, सर्वासधारणको सेयर छुट्याइ जारी गरिसकेको बैंक तथा वित्तीय संस्थाले निक्षेप लिन सक्नेछन् ।
All finacial information at your fingertips.