प्रभु बैंकको नाफा ४८.५४ प्रतिशत बढ्यो, वितरणयोग्य मुनाफा १६ करोड १६ लाख मात्रै


बैंक खबर । प्रभु बैंकले गत आर्थिक वर्ष २०७९/८०मा २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९को तुलनामा खुद नाफा ४८.५३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ९० करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेका कारण खुद नाफा बढेको देखिन्छ । 

ब्याज आम्दानी
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ अर्ब ७४ करोड २८ लाख रुपैयाँ थियो । 

सञ्चालन मुनाफा
बैंकको सञ्चालन मुनाफा ४७.५२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८५ करोड २२ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा गत आर्थिक वर्षमा ४ अर्ब २० करोड ७७ लाख रुपैयाँ पुगेको छ । 

निक्षेप तथा लगानी
बैंकको निक्षेप ६१.८१ प्रतिशतले बढेर २ खर्ब ८९ अर्ब ९ करोड ९ लाख पुगेको छ । निक्षेपको तुलनामा कर्जा लगानीको वृद्धिदर भने केही बढी छ । एक वर्षमा बैंकको कर्जा लगानी ६३.८५ प्रतिशतले बढेर २ खर्ब ३८ अर्ब २१ करोड ५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको निक्षेप १ खर्ब ७८ अर्ब ६५ करोड २१ लाख रुपैयाँ थियो भने कर्जा लगानी १ खर्ब ४५ अर्ब ३८ करोड १५ लाख रुपैयाँ थियो । प्रभु बैंकमा सेञ्चुरी कमर्सियल बैंक गाभिएका कारण निक्षेप र कर्जा लगानीको आकार उच्च अंकले बढेको देखिन्छ ।

जगेडा कोष
२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब १८ करोड २४ लाख रुपैयाँ सञ्चिति देखिन्छ । यसमध्ये १० अर्ब २ करोड ८ लाख रुपैयाँ रिजर्भ कोषमा छ भने रिटेन्ड अर्निङ्समा १६ करोड १६ लाख रुपैयाँ रहेको छ । 

सूचकहरु
नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी घटेको छ । वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी २ रुपैयाँ ९७ पैसा घटेर १२ रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९७ पैसा थियो ।
यस्तै बैंकको मूल्य आम्दानी अनुपात १३.३३ गुणा, प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २५ पैसा र कस्ट अफ फण्ड ७.८३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा भने १.८६ प्रतिशतबाट बडेर ४.१६ प्रतिशत पुगेको छ । 

वितरणयोग्य मुनाफा
बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख ५५ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ८४.३५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड २९ लाख ७७ हजार रुपैयाँ थियो । यो आधारमा बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी ६९ पैसा रहेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस